विश्व शान्तिका लागि नेपालगन्जमा कार्यक्रम सम्पन्न
नेपालगंज, मंसिर २२ – विश्वभरि जारी रहेको द्वन्द्व, हिंसा, र नरसंहारका विरुद्ध शान्तिको सन्देश फैलाउन कार्यक्रम सम्पन्न गरियो । सो कार्यक्रममा फिलिस्तीनमा मारिएका महिला, बालबालिका, र पत्रकारहरूको आत्मशान्तिका लागि दुआ पनि गरियो । 
कार्यक्रमको अध्यक्षता नरैनापुर गाउँपालिकाका प्रमुख सैय्यद मोहम्मद इस्तियाक अहमद शाहले गर्नुभयो। प्रमुख अतिथिका रूपमा लुम्बिनी प्रदेशकी सांसद मीना बोहरा सिद्दीकी उपस्थित थिइन्। अन्य विशिष्ट अतिथिहरूमा नेपाली कांग्रेसका पूर्व जिल्ला सदस्य पूर्ण सिंह ठकुरी, मौलाना सगीर खान, र पूर्व प्रदेश सांसद तथा जडीबुटी संघका अध्यक्ष याकुब अंसारी सहभागी थिए।
कार्यक्रमको सुरुआत कारी मोहम्मद सगीरले कुरआनपाकको तिलावत गरेर गरिएको थियो। त्यसपछि नातिया कलाम प्रस्तुत गर्दै अबूसहमाले कार्यक्रममा भावनात्मक सन्देश थप्नुभयो। 
तत्पश्चात, विभिन्न वक्ताहरूले आ-आफ्ना विचार राखेका थिए। भेरी एफ.एमका प्रमुख मोहम्मद आरिफ अंसारी, इको नेपाल फाउन्डेशनका संस्थापक अध्यक्ष करण साहु, नेपाली मुस्लिम शान्ति समाजका अध्यक्ष नूर मोहम्मद अंसारी, सदका ए पंजतनपाकका अध्यक्ष तथा पूर्व नेपाल हज समितिका सदस्य मेराज अहमद हिमालय, र अधिकारकर्मी शाहिदा शाहले फिलिस्तीनमा भइरहेको नरसंहार तत्काल रोक्न र विश्वभर शान्ति कायम गर्न आह्वान गरेका छन् ।
उक्त कार्यक्रमको अन्त्यतिर, सैय्यद अशफाक रसूल हाशमीले आफ्ना रचना प्रस्तुत गरी विश्व शान्तिको लागि प्रार्थना गर्नुभयो। सहभागीहरूले फिलिस्तीनका शहीदहरू र तिनका परिवारको सम्झनामा प्रार्थना गर्दै कार्यक्रम समापन गरेका थिए।
यस कार्यक्रमले नेपालगंजबाट विश्व शान्ति, मानवताको रक्षा, र द्वन्द्व समाधानका लागि महत्वपूर्ण सन्देश प्रवाह गरेको कार्यक्रमका संचालक जैनुल आबेदीनले बताएका छन्।




