१७ श्रावण २०८३, आईतवार

शान्ति सदभाव र्‍यालीको उद्देश्य कि फोटोको प्रतिस्पर्धा ?

एसीपी संवाददाता

१७ श्रावण २०८३, आईतवार ०६:५४ मा प्रकाशित

तारा प्रसाद खत्री   , नेपालगन्ज – 
सामाजिक सद्भाव, सरसफाइ, वातावरण संरक्षण वा जनचेतनाका लागि आयोजना हुने र्‍यालीको मुख्य उद्देश्य समाजमा सकारात्मक सन्देश फैलाउनु हो।

तर पछिल्लो समय कतिपय कार्यक्रममा ब्यानर समात्ने विषय नै अनावश्यक प्रतिस्पर्धाको केन्द्र बन्न थालेको देखिन्छ।
कतिपय सहभागीको ध्यान अभियानको उद्देश्यभन्दा पनि फोटो र भिडियोमा आफू अगाडि देखिने कुरामा केन्द्रित हुन्छ। त्यसैले ब्यानर समात्न तँछाडमछाड, धक्का–मुक्का र अव्यवस्थित दौडधुपसम्म हुने गरेको देखिन्छ। विडम्बना के छ भने, जसले अभियानको मूल सन्देश समाजसम्म पुर्‍याउनुपर्छ, उनीहरू कहिलेकाहीँ ब्यानरबाट नै टाढा पर्छन्।

अझ दुःखद पक्ष, कार्यक्रम सकिएपछि फोटो खिच्ने क्रम समाप्त हुनासाथ केही व्यक्तिले ब्यानर सडकमै छोडेर हिँड्छन्। त्यसपछि ब्यानर उठाउने, फोहोर व्यवस्थापन गर्ने, सामग्री संकलन गर्ने र कार्यक्रमलाई व्यवस्थित रूपमा समापन गर्ने जिम्मेवारी भने त्यही स्वयंसेवकहरूले पूरा गर्छन्, जसलाई फोटोमा देखिनेभन्दा अभियान सफल बनाउने कुराको बढी चिन्ता हुन्छ।
साँचो सामाजिक अभियानको मापन ब्यानर कसले समायो भन्ने होइन, अभियानबाट समाजमा कति सकारात्मक प्रभाव पर्‍यो भन्ने हो। ब्यानर सम्मानको वस्तु हो, प्रदर्शनको साधन होइन। फोटोसेसन पनि निश्चित समय, उचित स्थान र व्यवस्थित ढंगले गरिनुपर्छ। यसले कार्यक्रमको गरिमा बढाउँछ र सबैलाई समान सम्मान दिन्छ।

हामी सबैले आत्ममूल्यांकन गरौँ— हामी अभियानका सेवक हौँ कि केवल फोटोका पात्र? हामी सन्देश बोकेका छौँ कि केवल ब्यानर?
सद्भाव, अनुशासन, जिम्मेवारी र सेवाभाव नै सफल र्‍यालीको वास्तविक पहिचान हो।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x