१६ आश्विन २०८३, शुक्रबार

सरकार सत्ता कसरी जोगाउने भन्नेमा लागि परेको-अभिनेत्री मल्ल

एसीपी संवाददाता

२४ भाद्र २०७७, बुधबार १३:३७ मा प्रकाशित

भारतमा नोवेल कोरोना भाइरस (कोभिड १९) को प्रकोप सर्वत्र रुपमा फैलिएपछि रोजगारीको शिलशिलामा रहेका हजारौं नेपाली रोगको भयले देश फर्किए । यो समय परिवारसँग बिताउने सपना बुनेर स्वदेश फर्किएका ती नेपालीहरु अहिले पुनः धमाधम भारत जाँदैछन् । केहि विकल्प नगरि गरिएको लकडाउनले दैनिक गुजारा चलाउन समेत कठिन भएपछि उनीहरु रोजगारीका लागि बाध्यताबस भारत फर्किन थालेका छन् ।यतिबेला नेपालमा पनि कोरोना दिन प्रतिदिन बढ्न थालेको छ तर, नेपालमा भन्दा भारतमा कोरोनाको स्थिती भयावह छ । यो समयमा आफ्ना नागरिकलाई स्वदेशमै राखेर दैनिक गुजारा चलाउन सक्ने रोजगारी सरकारले उपलब्ध गराउनुपर्ने हो । तर, सरकार सत्ता कसरी जोगाउने भन्नेमा लागि परेको छ । संक्रमण फैलिन नदिन गरिएको बन्दाबन्दीले आम मानिस रोगले भन्दा भोकले मर्ने अवस्थामा पुगेका छन् ।

यसै सन्दर्भमा लोकप्रिय अभिनेत्री गौरी मल्लले दैनिक गुजारा चलाउनका लागि भारत फर्किन थालेका नेपालीलाई सरकारको अनुभूति दिन प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेकी छन् । मल्लले मंगलबार आफ्नो आधिकारिक फेसबुकमा प्रधानमन्त्रीलाई प्रश्न गर्दै लेखेकी छन्, ‘हिजो भारतबाट कोरोना नेपाल आएको भन्ने मुखले आज आफ्ना नागरिकहरुलाई ‘ए मेरा प्यारा नेपाली नागरिकहरु, भारतमा कोरोनाको प्रकोप बढ्दो छ, नेपालमा बस, जे गर्न पर्छ हामी गर्छौं’ भनेर किन भन्न सकिरहेको छैन ? सम्माननीय प्रधानमन्त्रीज्यू यो मेरो प्रश्न यहाँलाई नै हो । तपाईंको नागरिकको हैसियतले यत्ति प्रश्न गर्ने अधिकार हुन पर्छ मलाई ।’

मल्ल अगाडि लेख्छिन्- ‘कोरोनाको प्रकोपसँगै नेपालले आफ्ना नागरिक एकत्रित गर्ने मौका पायो, नेपालमै रोजगारी उन्मुख कार्य गर्ने समय आयो भन्ने सबैलाई लागेको थियो तर, यी सबै कुराहरुसँग सरकारलाई कुनै सरोकार नै रहेन छ भन्ने कुरा स्पष्ट देखियो । प्रधानमन्त्रीलाई आफूले बोलेका वक्तब्य रमाइलो गर्ने माध्यम भइरहे पनि सर्वसाधारणलाई लज्जाबोध भएको छ ।’

उनले ठूलो विश्वास गरेर देशको शिर्षस्थानमा राखेको व्यक्ति गर्वको पात्र बनेको हेर्न चाहेको भए पनि आफ्नो जीवनमा त्यो दिन नआउने बताएकी छन् । ‘पहिला आफ्नो देश र जनताको अवस्था सुधार्नु पर्याे । सानातिना जस्तो हुन्छ रोजगार दिन तर्फ लाग्नु पर्याे । नागरिकको दुःख, समस्या, विपद्, बेरोजगारीले निम्त्याएको मानसिक अवस्थासँग भिज्नु पर्यो’, उनले लखेकी छिन्, ‘आफ्नो परिवार छाडेर पलायन हुने रहर कसैलाई हुँदैन तर आज तपाईंका जनता जानीजानी होमिन जाँदैछन्, उनीहरुको जीवनको रक्षा गर्ने कर्तव्य पनि तपाईंकै हो ।’

सिंहदरबार र बालुवाटारभन्दा बाहिर पनि नेपाल रहेको नबिर्सन उनले आग्रह गरेकी छिन् ।श्रोत-मकालुखबर

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x