सशस्त्र प्रहरीको साईगाउँ फरवार्ड बेसलाई बिओपीका रुपमा परिणत
बाँकेको जानकी गाउँपालिकास्थित सशस्त्र प्रहरीको साईगाउँ फरवार्ड बेसलाई बिओपीका रुपमा परिणत गरिएको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँके मातहत रहेको उक्त फरवार्ड बेसलाई सशस्त्र प्रहरी बल नम्बर ५ विन्ध्यावासिनी बाहिनी, लुम्बिनी प्रमुख सशस्त्र प्रहरी नायब महानिरीक्षक (डीआइजी) दीपेन्द्र कुँवरले बोर्डर आउट पोष्ट (बिओपी) का रुपमा उद्घाटन गरेका छन् । साईगाउँलाई बिओपीमा परिणत गरेसँगै बाँकेमा प्रस्तावित सीमा सुरक्षा गुल्मको संख्या २ र बिओपी ७ पुगेका छन् ।
साईगाउँ बेस अवैध चोरीपैठारी नियन्त्रणका लागि एक वर्ष अगाडि स्थापना गरिएको थियो । जानकी-१ स्थित उक्त फरवार्ड बेसमा हाल सशस्त्र प्रहरी नायब निरीक्षक (सई) ले कमाण्ड गर्दै आएका छन् । हाल त्यहाँ सई जीवन पौडेलले कमाण्ड सम्हालेका छन् । साईगाउँ बिओपी उद्घाटनमा सशस्त्र प्रहरी बाँके प्रमुख सशस्त्र प्रहरी उपरीक्षक (एसपी) शोभाकान्त खनाल, सशस्त्र प्रहरी नायब उपरीक्षक (डीएसपी) दीपक चन्द, प्रस्तावित सीमा सुरक्षा गुल्मका प्रमुख, बिओपी प्रमुख लगायत अन्य सशस्त्र प्रहरी कर्मचारीहरुको उपस्थिति रहेको सशस्त्र प्रहरी बल नम्बर ३० बाँकेले जानकारी दिएको छ।


