स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायका प्रमुखकहरु फेरिए
नेपालगन्ज: स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र मातहतका निकायका प्रमुखकहरु फेरिएका छन्। स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकदेखि अस्पताल प्रमुखहरुको जिम्मेवारी हेरफेर गरेका हुन्। मन्त्री पौडेलले भेरी अस्पताल नेपालगन्जको मेडिकल सुपरिटेन्डेन्टमा डा निराजन सुवेदीलाई जिम्मेवारी दिइएको छ।
यस्तै मन्त्री पौडेलले स्वास्थ्य सेवा विभागको महानिर्देशकमा डा विकास देवकोटालाई जिम्मेवारी दिएका छन्। विभागमा महानिर्देशक रहेकी डा संगीता कौशल मिश्रलाई स्वास्थ्य मन्त्रालयमा ल्याइएको छ। यस्तै, मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखामा डा सरोज शर्माले जिम्मेवारी पाएका छन्।
यसअघि महाशाखामा डा मदन उपाध्याय प्रमुख थिए। उनलाई वीर अस्पताल पठाइएको छ। मन्त्रालयको स्वास्थ्य समन्वय महाशाखामा डा भीमप्रसाद सापकोटाले जिम्मेवारी पाएका छन्। महाशाखा प्रमुख डा चुमनलाल दासलाई सरुवा गर्दै सापकोटालाई जिम्मेवारी दिइएको हो। डा दासलाई नारायणी अस्पतालको प्रमुख मेडिकल सुपरिटेन्डेन्टको जिम्मेवारी दिइएको छ।
यसैगरी, स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखा प्रमुखमा डा पवनजंग रायमाझी आएका छन्। महाशाखामा रहेका डा श्रवण थापालाई ट्रमा सेन्टरमा सरुवा गरिएको छ। टेकुस्थित स्वास्थ्य तालिम केन्द्रको निर्देशकको जिम्मेवारी यशोदा अर्यालले पाएकी छिन्। केन्द्रका निर्देशक डा अनुज भट्टचनको सार्क टिबी सेन्टरमा निर्देशकको रुपमा सरुवा भएको छ। सार्क टिबी सेन्टरमा रहेकी डा मनिषा रावललाई केन्द्रिय कारागार अस्पतालको निर्देशकको जिम्मेवारी दिइएको छ।
कारागार अस्पतालमा निर्देशक रहेका डा प्रकाश बुढाथोकीलाई मन्त्रालयमा ल्याइएको छ। उनी मन्त्रालयका प्रवक्ता समेत हुन्। यसैगरी, कोशी अस्पतालको प्रमुख मेसुमा डा रूना झा र गजेन्द्र नारायण सिंह अस्पतालको प्रमुख मेसुमा डा श्रीराम तिवारीले जिम्मेवारी पाएका छन्। उपचारात्मक महाशाखामा डा सुधा देवकोटाले जिम्मेवारी पाएकी छिन् भने महाशाखाका डा अनुप बास्तोलालाई शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालमा सरूवा गरिएको छ।



