५२८औँ तुलसीदास जयन्ती नेपालगञ्जमा भव्य रूपमा सम्पन्न, अवधी भाषा संरक्षणमा योगदान दिनेहरू सम्मानित
शाहिदा शाह , नेपालगञ्ज, साउन १५ – अवधी सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपालगञ्जमा ५२८औँ गोस्वामी तुलसीदास जयन्ती विविध कार्यक्रमका साथ भव्य रूपमा सम्पन्न गरिएको छ। कार्यक्रमले अवधी भाषा, साहित्य र संस्कृति संरक्षणमा योगदान पुर्याउने व्यक्तिहरूलाई विशेष सम्मान प्रदान गर्दै तुलसीदासको योगदानलाई स्मरण गर्यो।
कार्यक्रमको अध्यक्षता प्रतिष्ठानकी उपाध्यक्ष शुशीला वैश्यले गरेकी थिइन्। प्रमुख अतिथिका रूपमा मधेशी आयोगका अध्यक्ष तथा विशिष्ट अतिथिका रूपमा आयोगकै सदस्य विजय कुमार गुप्ता र प्रमुख जिल्ला अधिकारी धर्मराज जोशी सहभागी थिए।
भारतबाट विशेष अतिथिका रूपमा आमन्त्रित अवधी भाषा प्रबर्द्धक सन्दीप मिश्रा र इन्द्रेश बहादुर भदौरियालाई अवधी भाषा संरक्षणमा पुर्याएको विशिष्ट योगदानको कदर गर्दै सम्मानपत्र प्रदान गरिएको थियो।
त्यसैगरी, पत्रकार सावित्री गिरी, चन्दा सिंह, सन्ध्या शर्मा लगायत करिब ४० जना व्यक्तित्वलाई अवधी भाषा र साहित्य प्रवर्द्धनमा पुर्याएको योगदानका लागि कदरपत्र र मायाको चिनो प्रदान गरिएको थियो। अवधी भाषी पत्रकार विर्जेश त्रिपाठी र नन्दलाल साहुलाई नगद रु. १२५० सहित सम्मानपत्र प्रदान गरिएको थियो।
कार्यक्रमको विशेष आकर्षणका रूपमा आयोजित बहुभाषिक कवि गोष्ठीमा अवधी, नेपाली, मैथिली लगायत भाषामा साहित्यकारहरूले आफ्ना रचनाहरू प्रस्तुत गरे। गोष्ठीले विविध भाषाको समन्वयमार्फत तुलसीदासको योगदानप्रति श्रद्धा अर्पण गर्यो।
कार्यक्रममा अतिथिहरूले गोस्वामी तुलसीदासका काव्य रचनाहरू — विशेष गरी रामचरितमानस — को सामाजिक, सांस्कृतिक र भाषिक महत्वमाथि प्रकाश पारेका थिए। प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले रामचरितमानस का पाँच श्लोक वाचन गरी कार्यक्रमको गहिराइ थपेका थिए।
सांस्कृतिक पक्षमा अवधी भाषी महिलाहरूले सोहर, कजरी गीत, विवाह गीतजस्ता मौलिक अवधी प्रस्तुति दिएर कार्यक्रमको वातावरण झनै भावनात्मक र सांस्कृतिक रुपमा समृद्ध बनाएका थिए।
कार्यक्रमको सञ्चालन विष्णुलाल कुमालले गरेका थिए भने अध्यक्ष शुशीला वैश्यले अन्त्यमा सबै सहभागी, अतिथि र सहयोगीहरूलाई धन्यवाद दिँदै कार्यक्रमको औपचारिक समापन गरेकी थिइन्।
तुलसी जयन्ती कार्यक्रमको एक झलक ।



