९ मंसिर २०८३, मंगलवार

चिनियाँ विश्लेषकको खुलासा : चीनले बिआरआईलाई अनुदान कार्यक्रममा परिणत गर्ने सम्भावना छैन

एसीपी संवाददाता

१४ चैत्र २०८०, बुधबार ०३:४० मा प्रकाशित

काठमाडौं।  सात वर्ष अघि नेपालले हस्ताक्षर गरेको बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)लाई सहायता (अनुदान) कार्यक्रममा परीणत गर्ने सम्भावना नरहेको एक चिनियाँ विश्लेषकले खुलासा गरेका छन्।

उपप्रधान एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठको चीन भ्रमणका क्रममा बिआरआईलाई अनुदानमा समेत परीणत गराउन पहल हुनुपर्ने आवाज नेपालमा उठिरहेका बेला चिनियाँ पक्षले भने सम्भावना नरहेको बताएको हो।

चिनियाँ विश्लेषक गाओ लाङले भनेका छन्, ‘नेपाल अहिले निकै जटिल भूराजनीतिक परिवेशबाट गुज्रिरहेको छ । चीनले बीआरआईलाई सहायता कार्यक्रममा परिणत गर्ने सम्भावना छैन।’

परराष्ट्रमन्त्री श्रेष्ठको चीन भ्रमणमा सात वर्षअघि हस्ताक्षर गरेको बिआरआईप्रति नेपालको प्रतिबद्धताको परीक्षा हुने उनको भनाइ छ। उनका अनुसार वर्तमान सरकार बीआरआई कार्यान्वयन गर्न उत्साहित भए पनि आन्तरिक र बाह्य दबाबका कारण कार्यान्वयनको चरणमा जान सकेको छैन।

‘नेपालमा राजनीतिक शक्तिको विविधताका कारण बिआरआईजस्ता आयोजनाप्रति असन्तुष्टि र फरक मत हुनु स्वभाविक हो। तर बहुसंख्यकले बीआरआई अघि बढ्न चाहेकाले त्यस्तो आवाजले नेपालको मूलधारको प्रतिनिधित्व गर्दैन भन्ने कुरामा पनि ध्यान दिनुपर्छ,’ उनको तर्क छ।

उनका अनुसार बीआरआईका बारेमा विभिन्न योजनाबद्ध गलत व्याख्याले चीन र चीनसँग सम्बन्धित विषयलाई अन्तर्राष्ट्रिय स्तरमा अप्ठ्यारो बनाएको छ, त्यसैले यस्तो अवस्थामा निकट छिमेकी भएकाले नेपाल र चीनले थप रणनीतिक निश्चितता र निर्णय क्षमता देखाउनुपर्छ ।

बिबिसी नेपाली सेवासँग कुरा गर्दै कांग्रेस नेता एवं निवर्तमान परराष्ट्रमन्त्री एनपी साउदले भने बीआरआई कार्यान्वयन गर्ने कुनै पनि निर्णयमा राष्ट्रिय सहमति हुनुपर्ने बताएका छन् । नेपालले अनुदानमा आधारित आयोजना मात्रै कार्यान्वयनका लागि उपयुक्त हुने भएकाले बीआरआईबाट ऋण नभई अनुदानका आधारमा मात्र नेपालले सहयोग लिनुपर्ने उनको भनाइ छ ।

‘नेपालले कुनै पनि प्रकारको ऋणको चर्को ब्याजदर वहन गर्न सक्दैन। विश्व बैंक वा एडीबीजस्ता सहुलियतपूर्ण ऋण आएमा नेपाललाई फाइदा हुन सक्छ तर ब्याजदर चीनको एक्जिम बैंकको स्तरमा भएमा देशलाई ठूलो जोखिम हुन्छ,’ उनले भनेका छन्, ‘एमसीसी अनुदान भएकाले स्वीकृत भएको हो। बिआरआई पनि अनुदानमा आएमा स्वीकार गरिनुपर्छ ।’

एमाले नेता राजन भट्टराईले सात वर्षअघि दुई सरकारका शीर्ष नेताको उपस्थितिमा बीआरआईको नारा लगाइएकाले त्यसलाई निष्कर्षमा  लग्नुपर्ने बताएका छन्। उनले बिआरआईबाट विश्वका सबै देशले समृद्धि र विकासको यात्रामा सहयोग गरेकोले यसबाट नेपाल पनि छिमेकी छिमेकी चीनबाट फाइदा उठाउनुपर्ने बताए। ‘बीआरआईबाट ऋण लिनुमा केही गलत छैन,’ उनले भने, ‘विश्व बैंक, एडीबीलगायतका मुलुकले खुसीसाथ ऋण लिने हो भने बिआरआई स्वीकार गर्नमा केही गलत हुँदैन।’

बीआरआईलाई अस्वीकार गर्दा नेपालको परराष्ट्र नीति पनि असन्तुलित हुने भट्टराईले दाबी गरे । नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x