२ श्रावण २०८३, शनिबार

नवनियुक्त मुख्य सचिव अर्याललाई प्रधानमन्त्री ओलीले के भने ?

एसीपी संवाददाता

१४ भाद्र २०८१, शुक्रबार ०९:३१ मा प्रकाशित

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्य सचिव एकनारायण अर्याललाई सुधारका लागि विभिन्न सुझावसहित बधाई दिएका छन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत ओलीले अर्याललाई मुख्य सचिवको रूपमा नियुक्त भएकोमा बधाई दिँदै, नागरिकलाई प्रभावकारी सेवा प्रदान गर्न र सुशासन कायम गर्न निजामती प्रशासनलाई चुस्त बनाउने आवश्यकतामा जोड दिएका छन्।

प्रधानमन्त्री ओलीले सरकारको नीतिगत नेतृत्व प्रभावकारी कार्यान्वयनका लागि कर्मचारी प्रशासनको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै सरकारले आवधिक भूमिका निर्वाह गर्ने भए पनि निजामती प्रशासन नै स्थायी सरकार भएको औँल्याएका छन्।

उनले हरेक सरकारी निकायका अधिकारीहरूलाई आफ्नो कामप्रति जबाफदेही बनाउन तथा जनगुनासो तत्काल समाधान गर्न सार्वजनिक सुनुवाइको व्यवस्था गर्न सामाजिक सञ्जालमा पेज बनाउनु उपयुक्त हुने सुझाव दिएका छन्।

ओलीले विशेष गरी सवारी चालक अनुमति पत्र, अस्पताल सेवाहरू, नागरिकता र पासपोर्ट जस्ता सेवामा सेवाग्राहीहरूले लामो लाइन बस्न नपर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन्।त्यसैगरी, विकास निर्माणका आयोजनाहरूमा हुने ढिलाइलाई तत्काल सम्बोधन गर्न सम्बन्धित अधिकारीहरूले सक्रिय भूमिका खेल्नुपर्नेमा पनि उनले बल दिएका छन्।

प्रधानमन्त्रीले करिब चार लाख राष्ट्र सेवक कर्मचारीको कार्यसम्पादनमा सुधार आएको खण्डमा नागरिकमा सन्तुष्टि आउने, कामहरू अघि बढ्ने र देश सफल हुने विश्वास व्यक्त गर्दै, मुख्य सचिव अर्याललाई सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

“सबै कर्मचारी जागिरे मात्र होइनन्, नागरिकका सेवक हुन्,” प्रधानमन्त्री ओलीले भने, “राष्ट्र सेवाका लागि सफलता मिलोस्, शुभकामना!”

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x