२ श्रावण २०८३, शनिबार

पोखरा विमानस्थलको चिनियाँ ऋणले संकटमा नेपाल! सांसद बजगाईंको कडा प्रश्न: टिआइएको उडान रोकिनु षड्यन्त्र?

एसीपी संवाददाता

२७ भाद्र २०८१, बिहीबार ०८:०७ मा प्रकाशित

नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आजको संसद् बैठकमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको चिनियाँ ऋण र हालको अवस्थालाई लिएर गम्भीर प्रश्न उठाएका छन्। उनले नेपालले हरेक वर्ष १ अर्ब रुपैयाँभन्दा बढी ऋण तिर्दा पनि कुनै अन्तर्राष्ट्रिय उडान नहुँदा असन्तुष्टि व्यक्त गरे। बजगाईंले यस्तो अवस्थामा सरकारले अझै पनि अन्य परियोजनाहरूका लागि चिनियाँ ऋण लिने सोच राखेको भन्दै कडा आलोचना गरे।

“पोखरा विमानस्थलको ऋण भुक्तानीमै समस्या छ, तर हामी फेरि दमक कोरिडोरको लागि चिनियाँ ऋण लिने कुरा गर्दैछौं। यसले देशलाई आर्थिक संकटमा धकेल्छ,” बजगाईंले चेतावनी दिए।

साथै, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा ट्याक्सी वे विस्तारका कारण दैनिक १० घण्टा उडान रोकिएको विषयमा पनि उनले प्रश्न उठाए। उनले यस्तो कार्य भैरहवा र पोखरा विमानस्थलमा उडान मोड्नका लागि गरिएको हुनसक्ने षड्यन्त्रको आशंका गरे।

बजगाईंले पोखरा र भैरहवा विमानस्थलको डिजाइन त्रुटिपूर्ण भएको भन्दै, यी विमानस्थलहरूले अन्तर्राष्ट्रिय मापदण्ड पूरा नगरेको र युरोपेली संघको कालोसूचीबाट नेपाललाई बाहिर निकाल्न नसकेको टिप्पणी गरे।

उनले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई हटाउन बारम्बार आग्रह गर्दा पनि सरकारले बेवास्ता गरेको गुनासो गरे।

साथै, उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई मिडिया हाउसका प्रमुखलाई गिरफ्तार गराएको भन्दै कडा आलोचना गरे। “जसले मिडियालाई नियन्त्रण गर्न खोज्छ, त्यो लोकतन्त्रको पक्षमा बोल्न उपयुक्त छैन,” उनले संसदमा भने।

बजगाईंले उपसभामुखको राजीनामा विवादबारे पनि आफ्नो धारणा राख्दै, यस मुद्दामा सरकार र सत्तारूढ दलहरूले ध्यान नदिएको आरोप लगाए।

सांसद बजगाईंको कठोर आलोचनाले पोखरा विमानस्थलको भविष्य, चिनियाँ ऋण, र नेपाल उड्डयन क्षेत्रमा गम्भीर प्रश्न खडा गरेको छ। नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x