२ श्रावण २०८३, शनिबार

चिनियाँ बजारमा सुरक्षाकर्मीद्वारा नेपालीमाथि दुर्व्यवहार, नाकामा युवाहरुमाथि कुटपिट

एसीपी संवाददाता

३० भाद्र २०८१, आईतवार ०९:३१ मा प्रकाशित

गोरखा । लामो समयपछि नाका खुलेकोमा खुसी हुँदै चिनियाँ बजार ‘स्याक’ गएका चुमवासीहरूले चिनियाँ सुरक्षाकर्मी र व्यापारीबाट अपमान खेप्नु परेको छ। धेरै युवाहरूले चिनियाँ सुरक्षाकर्मीको कुटपिट र दुर्व्यवहार भोग्नुपरेको गुनासो गरे।

चुमनुब्री गाउँपालिका–१ स्थित रुइला नाका भदौ ५ गतेदेखि खुलेको थियो। यस्तै, वडा नं. ७ स्थित ङुइला नाका ४ गतेदेखि थोरै समयका लागि खुल्ला भएको थियो। रुइला नाका २० दिन खुलेर गत सोमबारदेखि बन्द भइसकेको छ। एक महिनाका लागि भन्दै ४ गतेदेखि खुल्ला गरिएको ङुइला नाका भने अझै केही दिन चल्दै छ।

सपिङ मलमा भीडभाडको वातावरण बनाएर म्याद गुज्रिएको सामान भिडाएर पठाएको स्थानीयको गुनासो छ। ‘कोभिडभन्दा अगाडि त हामी जोङ्गा सहरसम्म पुग्थ्यौं। यसपटक जम्मा दुईघण्टाको बाटो टाढाको ‘स्याक’सम्म मात्र जान पायौं’, त्यहाँबाट फर्केर आएका दोर्जे लामाले भने, ‘नाकामा बस्ने सुरक्षाकर्मीले को–को आए भनेर फोटो खिचेर स्याकमा रहेका सुरक्षाकर्मीलाई पठाउँथे। स्याक पुगेपछि त्यहाँको ठूलो सपिङ मलजस्तो घरमा लगेर ढोका बन्द गरेर राखिदिन्थे। कोही बाहिर निस्कन खोजे भने हातपात गर्थे। बाटोमा हिँड्दा कोही यताउता हिँडे भने पनि हातपात गर्थे। एकदम दबाबमा राख्थे।’

कसैले मोबाइल चलाउँदा दलाइ लामाको फोटो देखियो भने पनि दुव्र्यवहार गर्ने गरेको उनले गुनासो गरे। सामानको मूल्य पनि दिनदिनै बढाउने गरेको र पसल छानिछानी सामान किन्न पनि नपाएको गुनासो अर्का स्थानीय कर्साङ लामाको छ। ‘गाउँका धेरै युवाहरूले चिनियाँ सुरक्षाकर्मीको कुटाइ खाए’, उनले भने, ‘एउटा ठूलो हलभित्र लगेर छोडिदिए। जेलमा हालेजस्तो बाहिर निस्किन पनि नपाइने। सामानको भाउ पनि मनपरी बढाउँथे। पसल छानिछानी किनूँ भने पनि अरू पसलमा जान पाइएन्।’ चुमवासीले लगेका अलिअलि जडिबुटीहरू पनि राम्रो भाउमा बेच्न नपाएको उनको गुनासो रहेको अन्नपुर्णपोष्टले लेखेको छ ।

‘बाहिर निस्किन नपाएपछि सामान किन्दा पनि प्रतिस्पर्धा गर्न पाइएन, यताबाट लगेको जडिबुटी पनि प्रतिस्पर्धा गरेर बेच्न पाइएन। उनीहरूकै भाउमा किन्नुपर्ने, बेच्नुपर्ने बाध्यतामा परियो।’ पुराना हिसाब पनि मिलाउन नपाएको गुनासो उनको थियो।

‘हाम्रो गाउँलेसँग पैसा उठाउनु पर्ने चिनियाँ साहुहरूचाहिँ हामीलाई भेट्न आए तर हाम्रो गाउँलेले पैसा उठाउनुपर्ने उताका मान्छे भेट्न जानचाहिँ पाइएन’, दोर्जे लामा भन्छन्, ‘हामी यसपालि धेरै अन्यायमा परेको जस्तो लाग्यो। हाम्रो जनप्रतिनिधिले यो अन्यायका बारेमा बोलेनन्। त्यसैले धेरै हेपाइ खाइयो।’ बाहिर निस्केर अन्यत्र व्यापारी र अरू वडाका बजारमा किनमेल गर्न नदिइएकोप्रति उताकै अरू वडा र अरु व्यापारीहरूले बिरोध गरेका उनले बताए।चिनियाँकै याकचौंरीमा बोक्न बाध्य पारिएको प्रति पनि स्थानीयवासीको गुनासो छ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x