१ श्रावण २०८३, शुक्रबार

धनुषाको हिरासत कक्षबाट ‘भेन्टिलेशन’को रड काटेर फरार भएका नौ थुनुवामध्ये सात जना पक्राउ

एसीपी संवाददाता

८ आश्विन २०८१, मंगलवार ०६:५३ मा प्रकाशित

जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट ‘भेन्टिलेशन’को रड काटेर फरार भएका नौ थुनुवामध्ये सात जना पक्राउ परेका छन् ।

लागूऔषध मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–२१ रुपैठाका अमितकुमार झा, धनुषाको विदेह नगरपालिका–७ गिद्धाबेलापट्टीका २६ वर्षीय रञ्जित मण्डल र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम उपमहानगरपालिका–१ का १७ वर्षीय सुमित मेस्तर पक्राउ परेका हुन् ।

उनीहरुलाई धनुषाको लखौरीबाट पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रञ्जन अवालेले जानकारी दिए । यसअघि आजै लखौरीबाट लागूऔषध मुद्दा आरोपी अभियुक्त धनुषाको विदेह नगरपालिका–७ का २४ वर्षीय रोशनकुमार मण्डल, सिरहा नगरपालिका–१३ का ३३ वर्षीय अभास्करकुमार यादव र अभद्र व्यवहार मुद्दाका आरोपी जनकपुरधाम–४ का २२ वर्षीय विक्की कार्कीलाई पक्राउ गरेको थियो ।

राति भेन्टिलेशन फोडेर भाग्ने क्रममा सत्यम झा जनकचोकबाट पक्राउ परेका थिए । आइतबार राति हिरासतको भेन्टिलेसन फोडेर उनीहरु फरार भएका थिए । जसमध्ये सत्यम झालाई तत्कालै प्रहरीले जनकचोकबाट पक्राउ गरेको थियो । धनुषाको नगराइन नगरपालिका–२ का १८ वर्षीय मनिष मण्डल औरही गाउँपालिका–२ का २३ वर्षीय विशाल मुखिया पक्राउ पर्न बाँकी रहेको बताइएको छ ।

एक साथ नौ जना थुनुवा हिरासत फोडेर फरार भएपछि घटना सम्बन्धमा अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषाले प्रहरी नायब उपरीक्षक रञ्जन अवाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति बनाएको मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालय मधेश प्रदेशका प्रवक्ता दिपक भारतीले घटनाका सम्बन्धमा सुक्ष्म अनुसन्धान गरिने बताउँदै प्रदेश प्रहरीले पनि छानबिन समिति बनाउने बताउनुभयो । घटनास्थलको प्रकृति हेर्दा भेन्टिलेशनको रड ह्याक्सो ब्लेडले काटेर थुनुवा फरार भएको देखिएको उनले बताए ।

“थुनुवा कक्षमा रड काट्ने ह्याक्सो ब्लेड कहिले गयो, कसको लापरबाहीले गयो सबै छानबिन हुन्छ”, उनले भने । अहिले फरार रहेका दुई जनालाई पक्राउ गर्न जनपथ, सशस्त्र र दङ्गा प्रहरी परिचालन गरिएको प्रवक्ता भारतीले जानकारी दिए ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x