खुमलटारमा रवीन्द्र मिश्र, प्रचण्डलाई भने : राजतन्त्र नफर्काए देश विस्फोटतिर जाँदैछ
काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रबीच सोमबार एउटा अन्तरक्रिया कार्यक्रममा जम्काभेट भयो ।
होटल मल्लमा आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा नेपालको वर्तमान संविधानलाई मिश्रले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को संविधान भएको टिप्पणी गरिदिए ।
संविधान निगरानी समूह र इन्स्टिच्युट फर स्ट्राटेजिक एन्ड सोसियो–इकोनोमिक रिसर्च (आईएसएसआर)को संयुक्त आयोजनामा आयोजित ‘संविधान कार्यान्वयन : अपेक्षा र वास्तविकता’ विषयक अन्तक्रिया कार्यक्रममा उनले राजसंस्था फर्काउनुको विकल्प नरहेको तर्क गरे ।
दुई ध्रवतिर फर्किएको राजनीतिक विचारधारा बोकेका यी दुईजना नेताबीच राजतन्त्र र गणतन्त्रलाई लिएर घोचपेच चल्यो । प्रचण्ड सशस्त्र संघर्षमा रहेका बेला चर्चित अन्तर्वार्ता गर्न भ्याएका मिश्र बीबीसीको जागिर छाडेर राजनीतिमा होमिएका हुन् । अहिले उनी राजतन्त्रको पक्षमा चर्को वकालत गर्दै हिँडेका छन् ।
उनले सोमबार नेपालमा राजतन्त्र पुनर्स्थापना र हिन्दु राज्यको वकालत गर्दै गर्दा प्रचण्डले जवाफमा ती दुवै कुरा सम्भव नभएको बताए । तर उनले अहिले राजावादीहरूलाई पनि बोल्ने अधिकार गणतान्त्रिक व्यवस्थाले नै दिएको नि उनले उल्लेख गरे ।
अन्तरक्रिया कार्यक्रममा जम्काभेटका क्रममा प्रचण्डले मिश्रसँग संवाद गर्न चाहेको बताएका थिए । उनको त्यही चाहना मंगलबार पूरा भएको छ । प्रचण्डलाई भेट्न पूर्वपत्रकार तथा वर्तमानमा राजावादी दलका नेता मिश्र खुमलटार पुगे ।
उनले खुमलटारस्थित प्रचण्ड निवासको छतमा दुईजना गफ गरिरहेको तस्बिर हाल्दै एक्समा लेखेका छन्, ‘प्रचण्डसँग मनका कुरा !’
उनले वर्षौँपछि प्रचण्ड निवासमा भेट बताउँदै आफूले राजसंस्था पुनर्स्थापित गरेर देशलाई जोगाउनुपर्ने धारणा राखेको पनि उल्लेख गरेका छन् ।
‘अब देश यस्तो बिन्दुमा पुग्यो कि राजसंस्थालाई पुनर्स्थापित नगर्ने हो भने ‘विस्फोटनको अवस्था’ तिर उन्मुख हुँदैछ’, उनले एक्समा भनेका छन्, ‘र, त्यतिबेला तपाईंहरूको ‘अग्रगमन’, नाम र शालिक केही बाँकी रहने छैन।’, लामो व्याख्यासहित सारमा मैले यही भनेँ।’



