१ श्रावण २०८३, शुक्रबार

नेपालगञ्ज भन्सारको बेरियर जमुनाहमा सारियो, राति १०.३० सम्म गेट खुल्ने

एसीपी संवाददाता

२४ आश्विन २०८१, बिहीबार १०:०९ मा प्रकाशित

नेपालगञ्ज । नेपालगञ्ज भन्सार कार्यालयले यात्रु शाखाको बेरियर गेट खुल्ने समय बढाएको छ । अब बेरियर गेट रातीको साढे १० बजेसम्म खुल्ने भएको छ । यसअघि १० बजे नै गेट बन्द हुने गरेको थियो ।

भारतीय सीमा सुरक्षाको बेरियर नेपाली समय अनुसार राती सवा १० बजेसम्म (भारतीय समय १० बजे) खुल्ला रहने र भारतीय नाकाबाट नेपाली बेरियरसम्म पैदल आउन १०-१५ मिनेट समय लाग्ने हुँदा समस्या भएको थियो । यो अवस्थालाई मध्यनजर गर्दै राजश्व चुहावट नियन्त्रण समितिको बैठकको निर्णय अनुसार यात्रु शाखाको बेरियर भारतीय नाकाको समय अनुसार व्यवस्थापन गरिएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत जनार्दन पौडेलले बताए ।

नेपाली बेरियर गेट अब विहान ६ बजेदेखि राती साढे १० बजेसम्म खुल्ला रहनेछ । भन्सार नियमावली, २०६४ को नियम ६६ मा भन्सार कार्यालयको प्रमुखले भन्सार कार्यालय खोल्ने र बन्द गर्ने समय तोकी सर्वसाधारणका लागि भन्सार कार्यालयको सूचनापाटीमा टाँसिदिनुपर्ने भन्ने ब्यवस्था रहेको छ ।

यसैगरी भन्सार कार्यालयको यात्रु शाखामा रहेको बेरियर गेट जमुनाह नाका गेट नजिकै सारिएको छ । यसले सीमामा रहेका नेपाली बस्तीका मानिसहरुको आवागमनलाई सहज बनाउनेछ । यसअघि सीमाबर्ती गाउँका बासिन्दाले ब्यहोर्दै आएको सास्ती अब हट्ने भएको छ । नेपालगञ्ज उपमहानगरपालिका र नेपालगञ्ज उद्योग बाणिज्य संघले लामो समयदेखि यो आवाज उठाउँदै आएका थिए ।

 

नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले यो निर्णय कार्यान्वयनसंगै नागरिकलाई निकै सहज हुने बताए । प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजालले भारतीय र नेपाली सीमा सुरक्षा बेरियर गेट बन्द हुने समय नमिल्दा भइरहेको अप्ठरो अब सम्बोधन भएको बताए ।

बेरियर गेट खुल्ला रहने समय बढाइएको बारेमा जानकारी दिन जमुनाहमा आयोजित कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका उपप्रमुख कमरुद्दिन राई, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक तुल बहादुर कार्की, सशस्त्र प्रहरी उपरीक्षक विमल डाँगी, ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक पुष्कर पन्त लगायतको उपस्थिति थियो ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x