१ श्रावण २०८३, शुक्रबार

धर्मशालामा गैरकानूनी हस्तक्षेप रोक्न माग

एसीपी संवाददाता

३ कार्तिक २०८१, शनिबार ०८:५१ मा प्रकाशित

पशुपति गौशाला धर्मशालामा गैरकानूनी हस्तक्षेप भएको भन्दै मुद्दा किनारा नलागेसम्म हस्तक्षेप रोक्न मारवाडी समाजले माग गरेको छ । बिहीबार मारवाडी सेवा संघ भैरहवा, रूपन्देहीले जिल्ला प्रशासन कार्यालय रूपन्देहीमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाउँदै हस्तक्षेप रोक्न आवश्यक सहयोग गरिदिन आग्रह गरेको हो ।

मारवाडी सेवा समिति नेपालद्वारा सञ्चालित श्री पशुपति गौशाला धर्मशालाको प्रांगणमा असोज २३ गते भएको घटना नेपालमा बसोबास गर्ने शान्तिप्रिय मारवाडी समाजको इतिहासमै अत्यन्तै भयभित एवं कहालीलाग्दो घटना भएको मारवाडी सेवा संघ भैरहवाका उपाध्यक्ष अरूण कुमार अग्रवालले बताए । उनले भने, ‘यो घटनाले हाम्रो सम्पूर्ण समाज डर त्रासको भयले अत्यन्तै चिन्तित छ । साथै सो घटनापश्चात हाम्रा समाजका व्यक्तिहरूलाई निजी धनसम्पत्ति समेतलाई जोखिम हुने गरी धम्कीपूर्ण भाषामा विभिन्न माध्यमबाट सूचना प्रेषित गर्ने कार्यहरू भइरहेकाले सम्पूर्ण मारवाडी समाजका सदस्यहरूको जीउधनको शान्ति सुरक्षाको माग गर्दछौं ।’

नगर प्रहरीले बल प्रयोग गरी पशुपति धर्मशाला कब्जा लिने क्रममा मारवाडी सेवा समाजका धेरैजसो मानिसहरूलाई चोटपटक लागेको अग्रवालले बताए । उनले भने, ‘कानूनी राज्यमा कुनै एउटा निकायबाट निर्णय भएको तर, अन्य निकायहरूमा पुनरावेदन गर्न जाने अधिकार सुरक्षित रहेको अवस्थामा मुद्दाको अन्तिम किनारा नलाग्दै ८४ वर्षदेखि गौ सेवा लगायत धार्मिक, सामाजिक तथा मानवीय सेवामा समर्पित संस्थाउपर यस्तो निन्दनीय कार्य कानूनसम्मत नहोला । यस घटनाबाट हामी सम्पूर्ण मारवाडी समाजको मौलिक हकअधिकार हनन् भएको छ ।’

पशुपति क्षेत्र विकास कोषले मारवाडी सेवा समिति नेपालसँग थप सहयोग उपलब्ध गराउने विषयमा २०६० जेठ १२ मा सम्झौता भएकोमा उक्त सम्झौता कोषले २०८० साउन १७ गते एकतर्फी निर्णय भंग गरेकोले सो निर्णय गैरकानूनी रहेको भनी समिति निर्णय बदर गरी पाउन काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको अग्रवालले बताए ।

‘अदालतको आदेशको पूर्ण पाठ आएपछि सो उपर उच्च अदालतमा पुनरावेदन गर्न पाउने अधिकार सुरक्षित रहेको अवस्थामा कोषले अधिकारको दुरूपयोग गरी काठमाडौं महानगरपालिकासँग गौशाला धर्मशाला सञ्चालन सम्बन्धी सम्झौता गरी बिना कुनै लिखित जानकारी २०८१ असोज २३ गते एक्कासी महानगरपालिकाको प्रतिनिधिहरूको साथमा नगरप्रहरीहरू धर्मशालामा प्रवेश गरी बल प्रयोग गरेर गौशाला धर्मशालाको बोर्ड हटाई कब्जामा लिएको थियो, ’उनले भने ।

श्री पशुपति गौशाला धर्मशाला र यसको समग्र परिसर निर्धारित उल्लेखित उद्देश्यअनुरूप सञ्चालनमा रहिआएको र यसबाट कुनै व्यक्ति, मारवाडी समुदाय वा संस्थाबाट कुनै पनि प्रकारले आर्थिक लाभ लिने कार्य नभएको मारवाडी सेवा संघ भैरहवाका अध्यक्ष श्रवण कुमार बेरीवालले बताए । ज्ञापनपत्र बुझ्दै रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले ज्ञापनपत्र सम्बन्धित ठाउँमा पठाउने बताए । शान्तिपूर्ण जुलुस निकालेर जिल्ला प्रशासन कार्यालय पुगेर ज्ञापनपत्र बुझाइएको नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका अध्यक्ष मनोज कुमार अग्रवालले बताए । बुटवलटुडे

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x