१ श्रावण २०८३, शुक्रबार

शेख हसिनाले राजीनामा नदिई देश छोडेको खुलासा

एसीपी संवाददाता

६ कार्तिक २०८१, मंगलवार ११:३८ मा प्रकाशित

काठमाडौं- बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले राजीनामा नदिई देश छोडेको खुलासा भएको छ।

बंगलादेशका राष्ट्रपति मोहम्मद शाहबुद्दिनले आफूसँग पूर्वप्रधानमन्त्री शेख हसिनाको राजीनामाको कुनै दस्तावेजी प्रमाण नभएको बताएपछि यस्तो खुलासा भएको हो।

हसिनाले विद्यार्थीको नेतृत्वमा व्यापक प्रदर्शनका बीच गत अगस्तमा देश छोडेकी थिइन्।

यसैबीच, राष्ट्रपति शाहबुद्दिनले हसिनाले राजीनामा दिएको सुनेको र धेरै प्रयास गर्दा पनि उनले राजीनामा दिएको कुनै कागजपत्र फेला पार्न नसकेको बताएका छन्।

राष्ट्रपतिले दिएको एक अन्तर्वार्तामा यस्तो बताएपछि बंगलादेशको राजनीति तरंगित बनेको छ।

राष्ट्रपतिले दिएको अन्तर्वार्ताका अनुसार गत अगस्ट ५ मा हसिना भेट्न आउने फोन आएको थियो। तर, एक घन्टाभित्रै उनी आउन नसक्ने भन्दै अर्को फोन आयो। यसपछि उनले सैन्य महासचिव आदिलसँग सम्पर्क गरे तर उनलाई यस बारेमा कुनै जानकारी थिएन।

राष्ट्रपतिले भनेका छन्, ‘जताततै अशान्तिको खबर आएको थियो, मैले मेरो सैन्य महासचिव आदिल (मेजर जनरल मोहम्मद आदिल चौधरी) लाई यसबारे हेर्न भनें। उनीसँग पनि कुनै जानकारी थिएन। हामीले पर्ख्यौं र टिभी स्क्रोल गरिरह्यौं। कुनै खबर थिएन। पछि उनले मलाई जानकारी नदिई देश छाडेको सुनें।’

राष्ट्रपति शाहबुद्दिनले सेना प्रमुख जनरल वकार बंगभवनमा आएपछि प्रधानमन्त्रीले राजीनामा दिएको हो कि भनेर जान्न खोजेको बताए।

उनले भने, ‘एक दिन क्याबिनेट सचिव राजीनामा पत्रको प्रतिलिपि लिन आए। मैले पनि खोजिरहेको छु भनें। उनले अहिले यस विषयमा बहस गर्नुको कुनै अर्थ नरहेको बताए। हसिना गइन् र यो सत्य हो।’

राष्ट्रपतिले हसिना बाहिरिएपछि आफूले सर्वोच्च अदालतको राय लिएको र अदालतले अन्तरिम सरकार गठन गर्न सकिने बताएको बताए।

यसैबीच, कानुनी सल्लाहकार डा. आसिफ नजरुलले राष्ट्रपतिको भनाइ आफैंमा विरोधाभासपूर्ण रहेको भन्दै हसिनाले राजीनामा दिएको बताएका छन्।

हसिनाका कट्टर प्रतिद्वन्द्वी र पूर्वप्रधानमन्त्री खालिदा जियाको बंगलादेश नेसनलिस्ट पार्टी (बिएनपी) ले राष्ट्रपतिले राष्ट्रका नाममा गरेको सम्बोधनमा बंगलादेशको प्रधानमन्त्रीबाट हसिनाको राजीनामाको बारेमा झूट बोलेको बताएको छ।

बिएनपीका उपाध्यक्ष जैनुल आबेदिनले भने, ‘म भन्न चाहन्छु कि राष्ट्रपतिले सरकार गठन भएको दुई महिनापछि निश्चित एजेण्डा लिएर यस्तो अभिव्यक्ति दिएका हुन्। राष्ट्रपतिले झुट बोलेका छन्।’

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x