सुन तस्करी प्रकरणमा समातिएका पूर्वसभामुख महराका छोरा राहुल रिहा
सुन तस्करी प्रकरणमा समातिएका पूर्वसभामुख कृष्णबहादुर महराका जेठा छोरा राहुल महरा रिहा भएका छन् ।
इलेक्ट्रिक चुरोट (भेप) मार्फत भएको नौ किलो सुन तस्करी गरेको झूठो आरोपमा मुछिएपछि वयानको लागि आफै सिआइबीमा हाजिर हुन पुग्दा थुनिएका उनी एक वर्षपछि अस्ति १३ गते मंगलबार छुटेका हुन् ।
२०७९ पुस १० गते दुबईबाट विद्युतीय चुरोट ‘भेप’ मार्फत लुकाएर सुन तस्करी गर्ने समूहका वाङ्ग दाओजिनसँग नेकपा माओवादी केन्द्रको उपाध्यक्षसमेत रहेका पूर्वसभामुख कृष्णबहादुर महरा र उनका जेठा छोरा राहुलको फोनवार्ता भएको थियो ।
त्यसपछि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले उनलाई गत वर्ष भदौ १३ गते नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेको एक महिनापछि असोज २५ गते उनी काठमाडौं जिल्ला अदालतको आदेशले थुनामा पुगेका थिए । यता,महरा आफैं पनि सोही प्रकरणमा गत चैतमा पक्राउ परी पाँच दिनमा छुटेका थिए । त्यसयता उनी राजनीतिमा खासै सक्रिय छैनन् ।



