१ श्रावण २०८३, शुक्रबार

सीमापार अपराध रोक्न ‘स्पेशल टास्कफोर्स’ को प्रस्ताव

एसीपी संवाददाता

३ मंसिर २०८१, सोमबार २१:०३ मा प्रकाशित

सशस्त्र प्रहरी बल नेपाल (एपिएफ) र भारतको सशस्त्र सीमा बल (एसएसबी) बीच सीमापार अपराधलाई सम्बोधन गर्न स्पेशल टास्कफोर्स बनाउन सहमत भएका छन्।

आठौं समन्वयात्मक बैठक दुवै पक्षका सुरक्षा प्रमुखले टास्कफोर्स बनाउनका लागि आ–आफ्नो तालुक मन्त्रालयमा प्रस्ताव गर्ने सहमतिसहित बैठक टुङ्ग्याएका हुन्।

सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोकमा मङ्सिर १ गतेदेखि सुरु भएको समन्वयात्मक बैठकमा सीमामा हुने अवैध क्रियाकलाप रोकथाम तथा नियन्त्रण, लागूऔषधको ओसारपसार नियन्त्रण, तस्करी नियन्त्रण, सीमा सुरक्षालाई थप प्रभावकारी बनाउन नियमित संयुक्त सीमा गस्ती, सीमा स्तम्भहरुको रेखदेख तथा संरक्षण, सूचना आदान प्रदानलगायत दुई निकायबीच निरन्तर समन्वय तथा सहकार्य गर्ने सम्बन्धमा छलफल भएको छ।

समन्वयात्मक बैठकमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल र सशस्त्र सीमा बल (एसएसबी) को तर्फबाट महानिर्देशक अमृतमोहन प्रसादले प्रतिनिधित्व गरेका थिए।

एसएसबीको तर्फबाट ६ जनाको प्रतिनिधिमण्डल बैठकमा सहभागी रहेका थिए। ‘सीमापार अपराधलाई सम्बोधन गर्ने, सीमापार आवतजावत गर्ने दुवै देशका नागरिकको मर्यादित र सहज आवतजावत सुनिश्चित गर्ने र भारत र नेपालबीचको मित्रता र सहयोगको बन्धनलाई मजबुत बनाउने दृढ आपसी प्रतिबद्धताका साथ सम्पन्न भएको छ’, सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता शैलेन्द्र थापाले भने।

यसअघि सातौं समन्वयात्मक बैठक भारतमा सम्पन्न भएको थियो। हरेक वर्ष आयोजना हुँदै आएको यस बैठकमा सशस्त्र प्रहरी बल नेपालका महानिरीक्षक र भारतको सशस्त्र सीमा बलका प्रमुखबीच सीमा सुरक्षाबारे छलफल हुने गरेको छ। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x