आन्तरिक द्वन्द्व चलिरहेको म्यानमारमा १४ जना नेपाली अलपत्र
काठमाडौं । आन्तरिक द्वन्द्व चलिरहेको म्यानमारमा १४ जना नेपाली अलपत्र परेका छन् । बर्मास्थित नेपाली दूतावासलाई पुगेको सूचना अनुसार उनीहरू सीमा क्षेत्रमा पर्ने म्यावडी भन्ने ठाउँमा फसेका छन् र उद्दारका लागि अनुरोध गरेका छन् । बर्माका लागि नेपालका राजदूत हरिशचन्द्र घिमिरेले बताए अनुसार उनीहरू रहेको स्थान स्थानीय जातीय समूहको कब्जामा रहेको क्षेत्रमा पर्छ । केहीअघि त्यस क्षेत्रमा तैनाथ म्यानमारको सेनाले स्थानीय विद्रोहीसँग आत्मसमर्पण गरेको थियो ।
राजदूत घिमिरेले अनलाइनखबरसँग टेलिफोनमा भने, ‘त्यहाँ नेपालसहित अरु ३६ देशका नागरिक अलपत्र परेकाले उद्दारका लागि अरु देशसँग पनि समन्वय भइरहेको छ ।’ औपचारिक रुपमा जातीय समूहलाई पत्राचार गर्नसक्ने स्थिति नभएकाले अन्य गैरसरकारी संस्थाहरूको समेत सहयोग लिनुपर्ने स्थिति छ । ‘केही दिनअघि पाँच जना नेपाली उद्दार भएर स्वदेश फर्किनुभएको छ’, उनले भने, ‘अन्यलाई पनि फर्काउन यथाशक्य प्रयास गरिरहेका छौं ।’



