हिंसात्मक विचार कारबाहीको भागीदार हुन्छन्: रास्वपा
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक महामन्त्री कबिन्द्र बुर्लाकोटीले हिंसात्मक विचार कारबाहीको भागीदार हुने बताएका छन्।
आइतबार सामाजिक सञ्जालमा लेख्दै उनले हिंसात्मक विचार कारबाहीको भागीदार हुने बताएका हुन्।
‘विचार कसैको गलत हुँदैन। तर त्यो विचार, त्यो सोच कसैलाई ठिक लाग्न सक्छ, कसैलाई बेठिक लाग्न सक्छ । आफू सम्बद्ध संस्थाको सरोकार हुने बिषयमा विचार राख्दा संस्थाको विधि बमोजिम विचार व्यक्त गर्नुपर्छ। राजनीतिक दलको हकमा यो झनै महत्त्वपूर्ण हुन्छ,’ उनले लेखेका छन्, ‘नकारात्मक विचारहरू समाजमा वर्जित हुन्छन् । हिंसात्मक विचारहरू कारबाहीको भागीदार हुन्छन्।’
बुर्लाकोटीले विचारले व्यक्तिको मनस्थिति बुझाउने र मनस्थिति अनुसार व्यवहार हुने बताउँदै व्यवहार सकारात्मक भएमा स्वीकार्य हुने र नकारात्मक भएमा सो विपरीतका प्रतिक्रियाहरू आउने बताएका छन्।
मानव सभ्यता र समाजले व्यक्तिको सीमाहरू निर्धारण गर्ने बताउँदै उनले भनेका छन्,’कन्स्ट्रक्टिभ विचारहरू सीमाभित्रका मानिन्छन् र डिस्ट्रक्टिभ विचारहरू सीमा बाहिरका । त्यसैले विचार र त्यसलाई व्यक्त गर्ने थलो जीवनमा महत्त्वपूर्ण हुन्छन्।’ नागरिकन्युज



