३२ असार २०८३, बिहीबार

मधेसकेन्द्रित राजनीति गरिरहेका दलहरू फेरि एकजुट हुने

एसीपी संवाददाता

१५ माघ २०८१, मंगलवार १३:२७ मा प्रकाशित

मधेसकेन्द्रित राजनीति गरिरहेका दलहरू फेरि एकजुट हुने भएका छन्।

प्रमुख दुई ठूला राजनीतिक दल नेपाली कांग्रेस र नेकपा एमालेले संविधान र राजनीतिक दलसम्बन्धी ऐन संशोधनमा बहस सुरू गरेपछि मधेसलाई केन्द्र बनाएर राजनीति गरिरहेका ८ दलहरू आफ्ना एजेण्डाबारे एकमत हुन एक जुट भएका हुन्।

आउँदो बिहीबारसम्ममा ती प्रत्येक दलबाट एकएक जना सदस्य रहनेगरी कार्यदल बनाउने र कार्यदलले एजेण्डा बनाउने राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले जानकारी दिए।

सोमबार काठमाडौंमा बसेको बैठकले एजेण्डाहरूबारे छलफल गरेको र अब बस्ने बैठकले विस्तृतमा योजना बनाएर अघि बढ्ने उनले बताए। बैठकमा अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट रेणु यादव, उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट मनिष सुमन, सिके राउत नेतृत्वको जनमत पार्टीबाट अब्दुल खाँ, महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीबाट सर्बेन्द्रनाथ शुक्ला सहभागी थिए।

यस्तै रञ्जिता चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीबाट लालबीर चौधरी र गंगा चौधरी,राजेन्द्र महतोको राष्ट्रिय मुक्ति पार्टीबाट केशव झा र सन्तोष मेहता, हृदयेश त्रिपाठी नेतृत्वको जनता प्रगतिशिल पार्टीबाट त्रिपाठी र सिपी यादव तथा तराई मधेस लोकतान्त्रिक पार्टीबाट बृशेषचन्द्र लाल सहभागी थिए।

यसअघि यी दलको पहिलो बैठक माघ १ गते बसेको थियो। बिहीबार कार्यदल बनाएपछि पार्टी अध्यक्षहरू सहित बैठक बसेर अघि बढ्ने झाले बताए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x