उपराष्ट्रपति यादवद्वारा सहिद दिवसको अवसरमा दिनुभएको सन्देशको पुर्णपाठ
सम्माननीय उपराष्ट्रपति रामसहाय प्रसाद यादवले सहिद दिवसको अवसरमा दिनुभएको सन्देशको पुर्णपाठ :~
सहिद दिवस, २०८१ को पावन अवसरमा नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता, स्वाभिमान, नागरिक स्वतन्त्रता, जनताको सार्वभौम अधिकार, समावेशिता, समानता, सबैखाले विभेद्को अन्त्य, लोकतन्त्रको स्थापना र पहिचानसहितको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाका लागि आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने सम्पूर्ण ज्ञात–अज्ञात महान सहिदहरुलाई स्मरण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु ।
वीर सहिदहरुको बलिदान, त्याग, अदम्य साहस, वीरता र हौसलालाई स्मरण गर्दै उहाँहरुप्रति हार्दिक श्रद्धासुमन, सम्मान र नमन गर्नका लागि हरेक वर्ष माघ १६ का दिन मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी सहिद दिवस मनाइन्छ । स्वावलम्बी अर्थतन्त्रसहित सामाजिक तथा आर्थिक रुपमा एउटा सबल, सुदृद्ध र विकसित मुलुक निर्माणका लागि सहिदहरुको साहस सबैका लागि प्रेरणा हो । नेपालको पवित्र धरतीमा कयौं महान सपूतहरु/वीरवीरङ्गनाहरुले जन्म लिएका छन्, जसले मुलुकमा लोकतन्त्र, समानता, पहिचान, सह अस्तित्व, सदाचार, सद्व्यवहार, समान अधिकारका लागि आफ्नो प्राणको आहूति दिएका छन् । हाम्रा सहिदहरूले हामीलाई एउटा स्वतन्त्र, समृद्ध र शान्त नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरेको छ ।
सहिद दिवस हामीलाई सहिदहरूको सम्झना मात्र गराउने दिन होइन, हामीलाई उहाँहरूको मार्गदर्शन र प्रेरणाले अघि बढ्न प्रेरित गर्ने दिन पनि हो । यस अवसरमा हामीले सहिदहरूको सपना पूरा गर्न, न्यायपूर्ण र समानतामूलक समाज निर्माण गर्न र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्न संकल्प लिन सक्नु पर्दछ । अमर सहिदहरुको बलिदानको ऋण तिर्न सकिन्न । तर, देशप्रतिको उहाँहरुको त्याग र आहूतिको स्मरण गर्दै समाजमा जागरुकता र चेतना फैलाउन सकिन्छ । इतिहासमा कयौं यस्ता अप्रिय घटनाहरु पनि भए, जब कुनै न कुनै कारणबाट देशका महान मार्गदर्शक, वीर सपूत र वीरवीरङ्गनाहरु हामीबाट टाढिए । तर, उहाँहरुले देशको स्वाधिनता, अखण्डता, सार्वभौमिकता, सुरक्षाको महान दायित्व हामीलाई सुम्पिएर जानुभएको छ । त्यो दायित्व निर्वाह गर्न सम्पूर्ण नेपालीहरु दत्तचित्त भई सदैव सचेत र क्रियाशील रहनु पर्दछ ।
देशको विकास, शान्ति, समृद्धि र अखण्डता राष्ट्रिय एकताबाटै सम्भव छ । मुलुकको दिगो शान्ति, सुशासन, विकास, सवलीकरण, समृद्धिको आकांक्षा पूरा गर्न सम्पूर्ण राजनीतिक दल, आम नागरिक समाज लगायत सबै दृढ संकल्प, उच्च अठोट, पवित्र मन, वचन र कर्मका साथ लाग्नु आजको आवश्यकता हो । वीर सहिदहरुको सपना र आकांक्षाहरु साकार पार्न सके मात्र उहाँहरुप्रतिको सच्चा श्रद्धाञ्जली अर्पण गरेको ठहरिनेछ।
सहिद दिवसका अवसरमा, म सम्पूर्ण नेपाली जनसमुदायलाई महान सहिदहरूको आदर्श र मूल्यहरूलाई आत्मसात गर्दै, एकताको भावनालाई थप सुदृढ र बलियो बनाउँदै देशको प्रगति, विकास र समृद्धिको लागि दत्तचित्त तथा एकाकार भई मिलेर काम गर्न आह्वान गर्दछु । सहिदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै, उहाँहरूको मार्गदर्शनमा राष्ट्रको उज्जवल भविष्य निर्माणमा लाग्न सबैलाई प्रेरणा मिलोस् ।



