हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिनको रिहाइ कुरा उठेनका
काठमाडौं । हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको रिहाइका लागि नेपाल सरकारले कूटनीतिक पहललाई तीव्र पारेको छ। सोही क्रममा परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले इस्लामिक गणतन्त्र इरानका विदेशमन्त्री सय्यद अब्बास अराघ्चीसँग फोनवार्ता गर्दै विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी छिन्।
गएराति भएको फोनवार्तामा इरानी विदेशमन्त्री अराघ्चीले हमासका अधिकारीहरूसँग अब हुने बैठकमा विपिनको मुद्दा प्राथमिकताका साथ उठाउने आश्वासन दिएका छन्।
युद्धविरामपछि हमासले बन्दीहरू मुक्त गर्न थालेको संकेत
इजरायल सरकार र हमासबीच युद्धविरामको प्रक्रिया अघि बढेसँगै हमासले आफ्ना नियन्त्रणमा रहेका बन्दीहरूलाई मुक्त गर्न थालेको छ। नेपाल सरकारले पनि विपिनको रिहाइका लागि कतार, इजिप्ट र इजरायलसँग कूटनीतिक तहमा विशेष पहल गरिरहेको छ।
यसक्रममा मन्त्री डा. राणाले अघिल्लो हप्तामात्रै इजिप्टका विदेशमन्त्रीसँग पनि फोनवार्ता गर्दै विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेकी थिइन्।
नेपाल सरकारको निरन्तर प्रयास
नेपाल सरकारले विपिनको रिहाइका लागि गत वर्षदेखि नै कूटनीतिक प्रयासलाई प्राथमिकता दिँदै आएको छ। मन्त्री डा. राणाले संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय तथा क्षेत्रीय मञ्चहरूमा पनि यो विषय उठाउँदै आइरहेकी छिन्।
यसैगरी, इजरायलका लागि नेपाली राजदूत प्रा. डा. धनप्रसाद पण्डितले पनि केही दिनअघि इजरायलका राष्ट्रपतिसँग फोनवार्ता गर्दै विपिनको रिहाइका लागि अनुरोध गरेका थिए।
नेपाल सरकार युद्धविरामको अवसरलाई सदुपयोग गर्दै विपिनको सकुशल रिहाइका लागि उच्चस्तरीय कूटनीतिक पहललाई अझ तीव्र बनाउने रणनीतिमा रहेको छ।



