३२ असार २०८३, बिहीबार

भारत सरकारको आर्थिक सहयोगमा धादिङमा बन्दैछ कुरी स्वास्थ्य चौकीमा–वर्थिङ्ग सेन्टर

एसीपी संवाददाता

२८ माघ २०८१, सोमबार १२:०३ मा प्रकाशित

भारत सरकारको सहयोगमा धादिङमा वर्थिङ्ग सेन्टर निर्माण हुने भएको छ ।

जिल्लाको खनियाबास गाउँपालिकास्थित कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर भवन निर्माणको शिलान्यास आज संविधान सभा सदस्य दिलमान पाख्रिन, खनियाबास गाउँपालिकाका अध्यक्ष रणबहादुर तामाङ तथा काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर गीताञ्जली ब्रान्डनले संयुक्त रूपमा गरेका छन् ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा २ करोड ५१ लाख रुपैयाँ बराबरको परियोजना लागतमा कुरी स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर निर्माण हुनेछ् । कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति रहेको राजदूतावासले जनाएको छ ।

‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत रहेको भारत सरकारको अनुदान स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टर, पाले घर, प्राङ्गण पर्खाल, चमेनागृह, बाटो र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग हुनेछ । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) अन्तरगत रहेको छ ।

संविधान सभाका सदस्य, खनियाबास गाउँपालिकाका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरेका छन् । यो स्वास्थ्य चौकी–वर्थिङ्ग सेन्टरले नेपालका जनतालाई सहज चिकित्सा स्वास्थ्य सुविधा प्रदान गर्न मद्दत गर्नेछ ।

सन् २००३ यता भारत सरकारले नेपालका विभिन्न क्षेत्रमा ५६३ वटा भन्दा बढी उच्च प्रभाव सामुदायिक विकास परियोजना अघि बढाएको छ र ४९० वटा परियोजना सम्पन्न गरिसकेको छ ।

यी मध्ये बागमती प्रदेशमा १०८ वटा परियोजना रहेका छन् । यसका साथै भारत सरकारले भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न अस्पताल, स्वास्थ्य चौकी र शैक्षिक संस्थालाई १००९ वटा एम्बुलेन्स र ३०० वटा स्कुल बस उपहारस्वरुप प्रदान गरिसकेको छ । त्यसमध्ये धादिङका विभिन्न संस्थाहरूलाई १५ वटा एम्बुलेन्स र ३ वटा स्कुल बस उपहार स्वरूप प्रदान गरिएको छ ।

नजिकको छिमेकी भएको नाताले भारत र नेपालबीच व्यापक र बहुक्षेत्रीय सहकार्य रहेको छ । उच्च प्रभाव सामुदायिक विकास परियोजनाको कार्यान्वयनले नेपाली जनताको उत्थानका लागि र प्राथमिकताका क्षेत्रमा पूर्वाधारको विस्तारका लागि नेपाल सरकारले चालेका प्रयासमा भारत सरकार सदैव हातेमालो गर्न तयार रहेको कुरालाई प्रतिबिम्बित गरेको राजदूतावासले जनाएको छ ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x