३२ असार २०८३, बिहीबार

कांग्रेस आफ्नो एजेन्डामा अडियोस्, एमालेको पछि नलागोस्! – शेखर कोइराला

एसीपी संवाददाता

८ फाल्गुन २०८१, बिहीबार १७:२८ मा प्रकाशित

वीरेन्द्रनगर । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सधैं एमालेको प्रशंसा गरेर कांग्रेसको भलो नहुने बताएका छन्। उनले कांग्रेसको मुख्य प्रतिस्पर्धी एमाले भएकाले पार्टीको स्वार्थ विपरीत जाने कुनै गतिविधि सह्य नहुने स्पष्ट पारे।

सुर्खेतको वीरेन्द्रनगरमा आयोजित पार्टी कार्यक्रममा कोइरालाले भने, “हाम्रो प्रतिस्पर्धा एमालेसँग हो, सधैँ एमालेको गुणगान गाएर पार्टीको हित हुँदैन।” उनले आगामी निर्वाचनमा कांग्रेसले एमालेसँगै मुख्य प्रतिस्पर्धा गर्नुपर्ने भएकाले पार्टीको पहिचान र एजेन्डा स्पष्ट बनाउनुपर्नेमा जोड दिए।

अध्यादेशको गलत प्रयोग लोकतन्त्रको अपमान

कोइरालाले संसद् छल्ने शैलीमा सरकारले अध्यादेश ल्याउनु र सरकार सञ्चालनका लागि दलीय संयन्त्र बनाउनु लोकतान्त्रिक सिद्धान्तविपरीत भएको बताए। उनले सरकारको अध्यादेश नीति अस्पष्ट र अलोकतान्त्रिक भएको टिप्पणी गरे।

“अध्यादेश सरकारले काम गर्न नसक्ने बाध्यकारी अवस्थामा मात्र ल्याइनुपर्छ, संविधानले त्यही व्यवस्था गरेको छ। तर अहिलेको अवस्था त्यस्तो छैन,” कोइरालाले भने, “विगतमा कांग्रेसले अध्यादेशको विरोध गरेको थियो, अहिले त्यसलाई सही मान्नु दोहोरो मापदण्ड हो।”

उनले लोकतान्त्रिक प्रक्रियामा संसद्को भूमिका महत्वपूर्ण भएको भन्दै सरकारले हरेक निर्णय विधिसम्मत तरिकाले गर्नुपर्नेमा जोड दिए। “सबै कानुन अध्यादेशमार्फत ल्याउँदा लोकतान्त्रिक चरित्र समाप्त हुन्छ,” कोइरालाले चेतावनी दिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x