३२ असार २०८३, बिहीबार

भ्यू टावरको विकासले रोजगारी दिन्छ कि बस्नलाई टावरमै कोठा बनाइन्छ?” – पुनको ओलीलाई व्यंग्य

एसीपी संवाददाता

१० फाल्गुन २०८१, शनिबार १८:३९ मा प्रकाशित

झापा । माओवादी केन्द्रका उपमहासचिव तथा पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ ले प्रधानमन्त्री केपी ओलीको ‘भ्यू टावर वाला विकास मोडल’ लाई अनुत्पादक भन्दै कडा आलोचना गरेका छन्।

शनिबार झापामा आयोजित कार्यक्रममा बोल्दै पुनले ओली नेतृत्वको सरकारले विकासको नाममा शिक्षा, स्वास्थ्य, रोजगारीभन्दा बढी भ्यू टावरलाई प्राथमिकता दिएको आरोप लगाए। “देशको गौरव भनेकै भ्यू टावर! विकास भनेकै भ्यू टावर! अर्बौं खर्च गरेर ‘टावर’ ठड्याउने सोचले देशको आर्थिक अवस्था सुधार्न सक्दैन,” उनले टिप्पणी गरे।

उनले ओलीको निर्वाचन क्षेत्र झापा-५ मा मात्रै ४–५ हजार सुकुम्बासी रहेको तथ्यांक प्रस्तुत गर्दै “पहिला जनता बाँच्ने व्यवस्था गरौं, अनि टावर बनाउँला,” भने। राज्यको स्रोत अनावश्यक संरचनामा खर्च गर्नु निरंकुश शासनको प्रवृत्ति भएको उनले बताए।

“हिजो निरंकुश शासकहरूले गरिब जनता शोषण गरेर दरबार ठड्याए, अब लोकतन्त्रमा भ्यू टावर ठड्याउँदै छन्,” पुनले कटाक्ष गरे।

त्यसैगरी, उनले हालैका भ्रष्टाचार प्रकरणमा सरकारको दोहोरो मापदण्ड रहेको आरोप लगाए। “सत्ताका मानिसहरू बचाइन्छन्, सर्वसाधारणलाई जेल पठाइन्छ। यही हो न्याय?” भन्दै सहकारी ठगीदेखि मानव तस्करीसम्मको विषयमा सरकारको निष्पक्षता माथि गम्भीर प्रश्न उठाएका छन्।

जनतामा बढ्दो असन्तुष्टि लोकतन्त्रका लागि खतरा भएको बताउँदै पुनले “लोकतन्त्रको विकल्प निरंकुशता होइन, तर यस्तो प्रवृत्तिले जनता आक्रोशित बनाउँदैछ,” चेतावनी दिएका छन्।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x