३२ असार २०८३, बिहीबार

एक्लैनीमा अत्याधुनिक पूर्वाधारसहित पुनः निर्माण गरिएको जामा मस्जिदको उद्घाटन

एसीपी संवाददाता

१६ फाल्गुन २०८१, शुक्रबार २०:४९ मा प्रकाशित

नेपालगन्ज, । बाँके जिल्लाका मुस्लिम समुदायको सबैभन्दा ठुलो धार्मिक केन्द्र नेपालगन्ज–३ एक्लैनीमा अत्याधुनिक पूर्वाधारसहित पुनः निर्माण गरिएको जामा मस्जिदको उद्घाटन गरिएको छ।

दारुल उलुम फैजुन्नबी जामा मस्जिद सञ्चालक समितिका प्रवक्ता महमूद आलम खानका अनुसार समुदायको चन्दा र सहयोगबाट ठुलो लागतमा पुननिर्माण भएको जामा मस्जिदको उद्घाटन बिहीबार राति धार्मिक प्रवचन र सामूहिक नमाजसहित गरिएको हो।

उहाँले मस्जिदको आन्तरिक स्रोत र स्थानीय मुस्लिम समुदायको लगानीमा सो जामा मस्जिद १० हजार वर्गफुट क्षेत्रमा निर्माण गरिएको जनाउँदै सो मस्जिद करिब दुई हजार जनाले सामूहिक रूपमा नमाज पढ्न सक्ने क्षमताको रहेको बताउनुभयो।

नेपालगन्जकै सबैभन्दा पुरानो र ठुलो मस्जिद बनेपछि मुस्लिम समुदायलाई सहज हुने मस्जिद सञ्चालक समितिका अध्यक्ष हाजी अब्दुल रहमान मियाँले बताउनुभयो। उहाँले निर्माण कार्य अझै जारी रहेकाले थप सहयोगका लागि मुस्लिम समुदायसँग अपिल पनि गर्नुभएको छ।

नेकपा (एमाले) का केन्द्रीय सदस्य तथा मुस्लिम अगुवा मोहम्मद हारुन हल्वाइले ऐतिहासिक मस्जिद निर्माणले धार्मिक कार्यमा सहयोग पुग्ने बताउनुभयो।

जामा मस्जिदका प्रमुख धर्मगुरु मुफ्ती जाफर रजाले मुस्लिम समुदायमा शिक्षाको आवश्यकता औंल्याउँदै सबैले मिलेर धार्मिक संस्थाहरुको निर्माणमा सहयोग गर्नुपर्नेमा जोड दिनुभयो।

अर्का मुस्लिम अगुवा मोहम्मद जुबेर राईले जामा मस्जिदको पुन निर्माणबाट त्यहाँ नमाज पढ्न जानेलाई सहज हुने जनाउँदै सो मस्जिदलाई अझै उत्कृष्ट र हेर्ने लायक बनाउनुपर्नेमा जोड दिनुभयो।

मस्जिद सञ्चालक समितिका सहसचिव अब्दुल अजीज काजी अन्सारीले मस्जिद समितिले मुस्लिम समुदायको हक, हित र सशक्तीकरणका लागि अहम भूमिका खेल्ने बताउनुभयो। मस्जिद र मदरसासम्बन्धी गतिविधिमा कानुनी प्रक्रिया पालना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।

मस्जिद उद्घाटन कार्यक्रममा समितिका कोषाध्यक्ष मोहम्मद हुसेन हल्वाइ, मदरसा परिषद् लुम्बिनी प्रदेशका सदस्य सगिर खान, कानुनी सल्लाहकार जमालुद्दीन अन्सारी, जसपाका नेता अतहर हुसेन फारुकी, धार्मिक अगुवा मुफ्ती कैफुलवरा खानलगायत मुस्लिम धर्मगुरु तथा समुदायका अगुवाको उपस्थिति थियो।गोरखापत्रअनलाइन

5 1 vote
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x