३२ असार २०८३, बिहीबार

बालसुधार गृहमा राखिएका बालबन्दीबीच भएको झडपमा ६ जना घाइते

एसीपी संवाददाता

२ चैत्र २०८१, आईतवार १८:५० मा प्रकाशित

नेपालगन्ज — बाँकेको डुडुवा गाउँपालिका–६ आसमानपुरको जयेन्दु बालसुधार गृहमा राखिएका बालबन्दीबीच भएको झडपमा ६ जना घाइते भएका छन् । तीमध्ये दुई जना गम्भीर छन् । १८ बालबन्दीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

शुक्रबार राति बालसुधार गृहमा दुई समूहबीच झडप भएको थियो । विवाद बढ्दै जाँदा तनावग्रस्त बनेको बालसुधार गृहलाई प्रहरीले ४ घण्टा लगाएर नियन्त्रणमा लिएको हो । शनिबार ठूलो संख्यामा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले सुधार गृहलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । ‘शुक्रबारदेखि दुई समूहमा विवाद भएर कुटाकट भएको रहेछ । राति नै १५ जनालाई अस्पताल पुर्‍याएका थियौं,’ बाँके प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले भने, ‘शनिबार कुटपिटमा संलग्न समूहलाई नियन्त्रणमा लियौं ।’

उक्त क्रममा बालबन्दीहरूको ढुंगा प्रहारबाट केही प्रहरीसमेत घाइते भएका छन् । बालसुधार गृहको दोस्रो तल्लामा उनीहरूले आगजनी गरी केही क्षति पुर्‍याएको प्रहरीले जनाएको छ । आगो निभाउन त्यहाँ पुगेको दमकललाई समेत भित्र पस्न नदिएको र पटकपटक वार्ताका लागि आह्वान गर्दा पनि नसुनेपछि प्रहरीले बलपूर्वक भित्र पसेर सबैलाई नियन्त्रणमा लिएको थियो ।

‘सुधार गृहमा १८ वर्षमाथिका र १८ वर्षमुनिकालाई सँगै राख्दा झडपको अवस्था हुने गरेको छ,’ बालसुधार गृहकी इन्चार्ज विमला काउचाले भनिन्, ‘प्रहरी भित्र जान सक्दैनन् । उल्टै प्रहरीलाई नै कुट्न आउँछन् । अनि आफैं कटाकुट गर्छन् ।’ उक्त बालसुधार गृहमा २५० जना बालबन्दी छन् । अस्पतालमा घाइते बालकलाई भेटेका अधिकारकर्मी बसन्त गौतमका अनुसार झडपका क्रममा धारिलो हतियार प्रयोगबाट घाउ लागेको देखिएको छ ।

गतवर्ष पनि यो सुधार गृहमा बालबन्दीबीच भएको झडपमा परी बुटवलका सुलभ केसीको मृत्यु भएको थियो भने १० जना घाइते भएका थिए । बालबिज्याइँमा संलग्न बालकलाई सुधार्न सञ्चालनमा आएको बालसुधार गृहमा अधिकांश बालक कर्तव्यज्यान, जबर्जस्ती करणी जस्ता अपराधमा संलग्न छन् । सुरक्षा व्यवस्था बलियो नहुँदा बालगृहबाट बालबालिका भाग्ने घटना पनि हुँदै आएको छ । ईकान्तिपुर ।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x