माओवादी द्वन्द्व राष्ट्रिय गल्ती थियो, अब पुनरावृत्ति हुँदैन : ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार शान्ति प्रक्रियाको बाँकी काम टुंग्याउन गम्भीरतापूर्वक लागिपरेको बताएका छन्। बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रियालाई पीडित केन्द्रित बनाउँदै अगाडि बढाउने र देशलाई स्थायी शान्तिको दिशामा लैजाने स्पष्ट प्रतिबद्धता जनाएका हुन्।
उनले नेपालले आफ्नै मौलिक ढंगले शान्ति प्रक्रिया शुरु गरेको र त्यसलाई राजनीतिक सहमतिमार्फत सफलतापूर्वक टुंग्याउन सकिनेमा विश्वास व्यक्त गरे। “म श्रेयको भोकमा छैन, म चाहन्छु यो प्रक्रिया सफल होस्। श्रेय अरूलाई दिउँ, तर पीडितका घाउमा मल्हम लगाऔं, आँसु पुछौं,” प्रधानमन्त्री ओलीले भावुक शैलीमा भने।
प्रधानमन्त्री ओलीले आफू, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीचको समझदारीमै बाँकी कार्यहरू टुंग्याउन सकिने बताए। “हामीले साँचो संकल्प गर्ने हो भने अबको यात्रा लामो हुँदैन, न्याय दिन सकिन्छ,” उनले जोड दिए।
सत्य निरूपण तथा मेलमिलाप आयोग गठनका लागि सिफारिस समिति गठन भइसकेको र दुई महिनाभित्र आयोग गठन हुने बताउँदै उनले न्याय र परिपूरण दिने कार्यमा सरकार दृढ रहेको प्रस्ट पारे।
प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया विथोल्ने, समाजमा अशान्ति फैलाउने र द्वन्द्वलाई उत्सवका रूपमा मनाउने प्रवृत्तिप्रति आलोचना गर्दै देशले हिंसाको अध्याय टुंग्याइसकेको स्मरण गराए। “माओवादी द्वन्द्व राष्ट्रिय गल्ती थियो, त्यसबाट पाठ सिक्नुपर्छ, पुनरावृत्ति होइन,” उनले उल्लेख गरे।
साथै, उनले सरकार लोकतान्त्रिक मूल्यमा आधारित रहेको भन्दै आलोचना स्वाभाविक भए पनि समाज नबिथोल्न आग्रह गरे। सुशासन, विकास र गरिबी निवारणका लागि सबै पक्षको रचनात्मक भूमिकाको खाँचो रहेको बताए।



