शान्ति सम्झौता कार्यान्वयन अन्तिम चरणमा : देउवा
काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार शान्ति प्रक्रियालाई निष्कर्षमा पुर्याउने अन्तिम तयारीमा रहेको बताएका छन्। बिहीवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले सरकार संक्रमणकालीन न्यायका बाँकी काम पूरा गर्न दृढताका साथ अघि बढिरहेको उल्लेख गरे।
देउवाले हालै मात्र सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको पदाधिकारी नियुक्तिका लागि सिफारिस समिति गठन गरिनु संक्रमणकालीन न्यायको दिशामा उठाइएको ठोस कदम भएको बताए। “छिट्टै यी आयोगहरूले पूर्णता पाउनेछन् र सशस्त्र द्वन्द्वका समयमा भएका मानव अधिकार उल्लंघनका घटनामा सत्य अनुसन्धान गरी पीडितलाई न्याय दिलाउनेछन्,” देउवाले दाबी गरे।
उनले द्वन्द्वपीडित र मानव अधिकारकर्मीहरूले उठाउँदै आएका चिन्ताहरू सम्बोधन गरिने प्रस्ट पारे। “आयोगहरू स्वतन्त्र, विश्वसनीय र सक्षम बन्नुपर्छ भन्ने मागप्रति सरकार गम्भीर छ,” उनले भने, “छनोट समितिले पीडितका अधिकारलाई केन्द्रमा राख्दै योग्य व्यक्तिहरूको सिफारिस गर्नेछ।”
सभापति देउवाले संक्रमणकालीन न्यायको विषय नेपालले आफ्नै शैलीमा समाधान गर्न सकेमा यो विश्वभरका द्वन्द्वग्रस्त मुलुकहरूका लागि नमूना बन्नसक्ने पनि विश्वास व्यक्त गरे।
“वृहत शान्ति सम्झौताको मर्म अनुरूप न्याय दिन सक्यौं भने नेपालले दीर्घकालीन शान्तिको अन्तर्राष्ट्रिय मोडेल प्रस्तुत गर्न सक्छ,” देउवाले भने।



