३२ असार २०८३, बिहीबार

कानून व्यवसायीहरूलाई न्यायपालिकाप्रति बफादार हुनुपर्ने – न्यायाधीश मुसलमान

एसीपी संवाददाता

२९ चैत्र २०८१, शनिबार १२:२२ मा प्रकाशित

बाँके। सर्वोच्च अदालतका न्यायाधीश अब्दुल अजिज मुसलमानले कानून व्यवसायीहरूलाई न्यायपालिकाप्रति बफादार हुनुपर्ने बताएका छन्। नेपाल कानून व्यवसायी परिषद् (बार काउन्सिल) को लुम्बिनी प्रदेश सम्पर्क कार्यालय नेपालगञ्जमा उद्घाटन गर्दै न्यायाधीश मुसलमानले कानून व्यवसायीको भूमिका सामाजिक इन्जिनियर भएको टिप्पणी गरे।उनले भने, ‘तपाईंहरू (कानून व्यवसायी) पनि न्यायपालिकाको सदस्य हो, न्यायपालिकाको कर्मचारी जत्तिकै तपाईंहरू पनि बफादार हुनुपर्छ।’

न्यायाधीश मुसलमानले न्यायालयको मान, प्रतिष्ठा र इज्जतलाई सम्प्रेषण गर्ने प्रमुख माध्यम कानून व्यवसायी नै भएको बताए। ‘अदालत राम्रो भयो, स्वच्छ भयो, जनउत्तरदायी भयो भने कानून व्यवसायीलाई नै फाइदा हुन्छ,’ भन्दै उनले अदालत नरहे कानून व्यवसायीको अस्तित्व पनि नरहने धारणा व्यक्त गरे। जस्तो सुकै शासन व्यवस्था र जस्तो सुकै कालखण्ड भए पनि अदालत हुनुपर्नेमा उनले जोड दिए।

सर्वोच्च अदालतमा हाल १७ जना न्यायाधीश कार्यरत रहेको जानकारी दिँदै उनले अझै ४ जना न्यायाधीशको दरबन्दी रिक्त रहेको उल्लेख गरे। पछिल्लो समयमा सर्वोच्च अदालतबाट मुद्दाको छिनोफानो छिटो र छरितो ढंगबाट हुने गरेको दाबी गर्दै उनले थप चार जना न्यायाधीश नियुक्त भएपछि कार्यसम्पादन अझ सहज हुने बताए। अदालतले गरेको फैसलाको स्वच्छ रूपले आलोचना गर्न कुनै कानून बाधक नरहेको पनि उनले स्पष्ट पारे।

नेपाल कानून व्यवसायी परिषद्का केन्द्रीय पार्षद ईश्वरीप्रसाद ज्ञवालीले बार काउन्सिलको अहिले सम्पर्क कार्यालय भए पनि पछि स्थायी कार्यालय स्थापना गरिने बताए। ‘अहिले सम्पर्क कार्यालय भए पनि पछि स्थायी किसिमको कार्यालय स्थापना हुनेछ,’ उनले भने, ‘अहिलेलाई जिल्ला बार एशोसियशनको भवनको एउटा कोठा प्रयोग गरेका छौं, जिल्ला बार एशोसियशनसँग एक वर्षको सम्झौता भएको छ।’ भविष्यमा नेपालगञ्जमा लयर्स एकेडेमी स्थापना गर्ने सोच रहेको पनि उनले बताए। तत्कालका लागि बार काउन्सिलको एउटा कोठा र एक जना करारमा कर्मचारी राखिएको जानकारी उनले दिए।

उक्त कार्यक्रममा उच्च अदालत तुलसीपुर नेपालगञ्ज इजलासका वरिष्ठतम न्यायाधीश चन्द्रबहादुर सारु, बाँके जिल्ला अदालतका न्यायाधीश भिष्मराज प्रसाई, वरिष्ठ अधिवक्ता विजयकुमार गुप्ता, बर्दिया जिल्ला अदालत बार एशोसियशनका अध्यक्ष खडानन्द तिवारी, पत्रकार महासंघ बाँकेका अध्यक्ष नवीन गिरीलगायतले शुभकामना दिएका थिए।

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x