भारतसँगको सम्बन्ध धर्ममै सीमित छैन, लोकतन्त्रको संघर्षमा पनि साझेदारी छ — प्रकाशमान सिंह
काठमाडौं । उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल–भारत सम्बन्ध केवल धार्मिक वा सांस्कृतिक पक्षमा सीमित नरही राजनीतिक हिसाबले पनि गहिरो रहेको बताएका छन्।
शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक मात्र नभई लोकतान्त्रिक आन्दोलनको साझेदारीले पनि विशेष अर्थ राख्ने उल्लेख गरे। उनले भने, विपी कोईराला, कृष्णप्रसाद भट्टराईदेखि गणेशमान सिंहसम्मका नेताहरूले प्रजातान्त्रिक आन्दोलनका क्रममा भारतमा शरण लिएका थिए, जसले दुई देशबीचको राजनीतिक सम्बन्धलाई अझ प्रगाढ बनाएको हो।
उनका अनुसार हिन्दु धर्म मात्र नभई गौतम बुद्धको जन्मस्थल नेपाल र उनका प्रवचन स्थल भारतबीचको सम्बन्धले बुद्ध धर्मका माध्यमबाट समेत दुई मुलुकबीचको सम्बन्धलाई विशेष उचाइमा पुर्याएको छ। “नेपाल र भारतमा बहुसंख्यक हिन्दु धर्मावलम्बी छन् भने बुद्ध धर्मका दृष्टिले पनि दुई देश गहिरो सम्बन्धमा बाँधिएका छन्,” उनले भने।
सिंहले नेपाल–भारतबीचको वैवाहिक, पारिवारिक र सांस्कृतिक सम्बन्धबारे पनि चर्चा गर्दै बनारसको शैक्षिक भूमिकालाई विशेष रूपमा उल्लेख गरे। उनले बनारसले नेपालीहरूलाई शिक्षाको माध्यमबाट पनि जोड्ने काम गरेको बताए।
हाम्रो सम्बन्ध कुनै एक तहमा सीमित छैन, उनले थपे, धार्मिक, सांस्कृतिक, सामाजिक, शैक्षिक र राजनीतिक सबै पक्षमा नेपाल र भारतबीचको सम्बन्ध ऐतिहासिक, सजीव र बहुआयामिक रहँदै आएको छ।



