३२ असार २०८३, बिहीबार

गगन थापाको प्रधानमन्त्री ओलीमाथि प्रहार : “सरकारबाट अपेक्षाअनुसार काम भएन”

एसीपी संवाददाता

२ बैशाख २०८२, मंगलवार ०९:४१ मा प्रकाशित

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको स्वीकार गरेका छन्।

बिहीबार काठमाडौंमा नेपाली कांग्रेसले आयोजना गरेको एक कार्यक्रममा बोल्दै थापाले सरकारले गठन गरेको राजनीतिक संयन्त्रको सुझावलाई सरकारले बेवास्ता गरिरहेको गुनासो गरे।

“सरकारले जुन गतिमा काम गर्नुपर्छ भन्ने हाम्रो अपेक्षा हो, त्यो गतिमा काम हुन सकेको छैन। म पनि संयन्त्रको जिम्मेवारीमा छु। संयन्त्रको काम भनेको सरकारले नीतिगत सुधार ल्याउन दवाव दिने हो,” थापाले भने, “हामी केपी शर्मा ओली नेतृत्वको सरकारले राम्रो काम गरोस् भनेर सहयोग गरिरहेका छौं। तर केवल बिण्ड तातेर केही हुँदैन, ताप्के पनि तात्नुपर्छ।”

थापाले एमाले–कांग्रेसको नेतृत्वमा बनेको संयुक्त सरकारले पनि अपेक्षित उपलब्धि दिन नसकेको हुँदा आफूले निरन्तर प्रश्न उठाइरहेको बताए।

‘संवैधानिक राजसंस्थाप्रति हाम्रो सम्मान, तर राजाहरूले कहिल्यै पचाएनन्’

थापाले पूर्वराजा ज्ञानेन्द्र शाह कुनै हालतमा पनि संवैधानिक राजा बन्न नसक्ने टिप्पणी गरे। नेपाली कांग्रेसले संवैधानिक राजसंस्थाप्रति सधैं सम्मान दर्शाएको भए पनि राजाहरूले त्यो सम्मान कहिल्यै स्वीकार नगरेको उनको भनाइ थियो।

“बीपी कोइरालामाथि राजद्रोह लगायत ७ वटा मुद्दा लाग्दा पनि उहाँले संविधान र सम्मान बोकेर हिँड्नुभयो। गिरिजाबाबुले ढुंगा खाँदा पनि संवैधानिक राजसंस्थाको पक्षमा बोल्नुभयो। तर, राजाले भने उल्टै कांग्रेसलाई दुःख दिने काम गरे,” थापाले स्मरण गराए।

उनले लामो संघर्ष र अनुभवपछि नेपाली कांग्रेस यस निष्कर्षमा पुगेको स्पष्ट गरे कि अब संवैधानिक राजसंस्थाको कुनै ठाउँ छैन।

थापाले पूर्वराजा ज्ञानेन्द्र शाह निर्मल निवासबाटै अशान्ति फैलाउने प्रयास गरिरहेको आरोप पनि लगाए। “अहिले त निर्मल निवासमै हुँदा काठमाडौंमा यत्रो उत्पात मच्चाएको छ, नारायणहिटीमै बसेको भए के हुन्थ्यो होला?” उनले भने।

“जति धोएर सफा गरे पनि शाह संवैधानिक राजा बन्न योग्य छैनन्,” थापाले निष्कर्ष सुनाए। नेपालआज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x