३२ असार २०८३, बिहीबार

तिब्बती धर्मगुरु टुल्कु हुन्कार दोर्जेको रहस्यमय मृत्यु : चीनको सीमापार दमन अभियानको निर्मम अनुहार

एसीपी संवाददाता

६ बैशाख २०८२, शनिबार १५:१३ मा प्रकाशित

काठमाडौं । तिब्बती समुदायमा गहिरो शोक र आक्रोशको लहर छाएको छ । सम्मानित तिब्बती धर्मगुरु तथा मानवतावादी टुल्कु हुन्कार दोर्जेको चीनको नियन्त्रणमा रहँदै रहस्यमय परिस्थितिमा निधन भएपछि, यो घटनाले चीनद्वारा तिब्बती नेतृत्वमाथिको व्यवस्थित दमनको भयावहता फेरि एकपटक उजागर गरेको छ।

गोलोक, तिब्बतस्थित लुङनगोन गुम्बाका दशौं गद्दीाधिकारी टुल्कु हुन्कार दोर्जे २०२५ मार्च २५ मा भियतनामको साइगन (हो चि मिन्ह सिटी) स्थित होटलबाट पक्राउ परेका थिए। भियतनामी प्रहरीले चिनियाँ गुप्तचरसँग मिलेर गरेको अपरेशनपछि उनी मार्च २८ मा स्थानीय सार्वजनिक सुरक्षा निकायको नियन्त्रणमा पुगेका थिए, र सोही दिन उनको मृत्यु भयो। तिनै दिन मृत्यु भएको समयसङ्गतता र स्थानले घटना केवल संयोग नभएको आशंका प्रस्ट बनाउँछ।

अझ चिन्ताजनक कुरा त, उनको शव हो चि मिन्ह सिटीको एक अस्पतालमा कडा सैन्य सुरक्षाबीच राखिएको छ। लुङनगोन गुम्बाबाट आएका प्रतिनिधिहरूलाई मृत्यु प्रमाणपत्र देखाइए पनि फोटो खिच्न वा साथ लैजान अनुमति दिइएन। शव लिन आएका तिब्बती प्रतिनिधिहरूलाई चीनका अधिकारीसँग भेट्नसमेत नदिइएको घटनाले सत्य लुकाउन खोजिएको स्पष्ट देखाउँछ।

टुल्कु दोर्जे लामो समयदेखि चिनियाँ हस्तक्षेपको विरोधमा आवाज उठाइरहेका थिए। सन् २०२४ को सेप्टेम्बरदेखि उनी भियतनाममा लुकेर बसिरहेका थिए, किनकि अगस्ट २०२४ मा चीनले उनलाई सार्वजनिक शिक्षणपछि ‘हराएको’ दाबी गरेको थियो। यस घटनाको पृष्ठभूमि हेर्दा यो कुनै आकस्मिकता होइन, बरु योजनाबद्ध ढंगले सीमापार दमन गर्ने रणनीतिक प्रयास हो भन्ने देखिन्छ।

उनीमाथि लगाइएका आरोपहरू पनि राजनीतिक र सांस्कृतिक दमनको उदाहरण हुन्—सरकारी स्वीकृति बिना विद्यालय स्थापना, चिनियाँ नियोजित पञ्चेन लामा स्वागत नगर्नु, र तिब्बतीहरूका हक–अधिकारको पक्षमा बोलेको अभियोग। वास्तविक कारण भने स्पष्ट छ—उनी एक प्रभावशाली तिब्बती धार्मिक नेता थिए, जसको कार्यले चिनियाँ राज्यलाई चुनौती दिएको थियो।

उनले बनाएका स्कुल र गुम्बाहरू, सुरु गरेका छात्रवृत्ति कार्यक्रमहरू र स्थानीय समुदायमा फैलाएको सांस्कृतिक चेतनाले तिब्बती पहिचान जोगाउने काम गरिरहेको थियो। चिनियाँ सरकारले यिनै गतिविधिलाई ‘विद्रोह’ को संज्ञा दिँदै उनीमाथि फर्जी अभियोग लगाएको हो।

उनीमाथि आक्रोश मात्र चीनको भित्रि नीति होइन, यो अब अन्तर्राष्ट्रिय रूप लिँदै गएको छ। चिनियाँ दबाबमा परेर भियतनामले उनलाई पक्राउ गर्नु र चीनको नियन्त्रणमा पठाउनु अन्तर्राष्ट्रिय कानुन र मानव अधिकारको स्पष्ट उल्लङ्घन हो। अब प्रश्न उठेको छ—चीनका विरोधीहरूका लागि संसारमा अब सुरक्षित कुन ठाउँ बाँकी छ?

टुल्कु हुन्कार दोर्जेको मृत्युले तिब्बतको स्वतन्त्र धार्मिक अभ्यास र सांस्कृतिक अस्तित्वको लडाइँलाई थप गम्भीर बनाएको छ। उनका समर्थकहरू मात्रै होइन, अन्तर्राष्ट्रिय मानवअधिकार समुदायले पनि यस घटनामा स्वतन्त्र छानबिनको माग गर्नुपर्छ। नेपालपाना

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x