राप्रपाको प्रदर्शनलाई तीनकुने हिंसाजस्तो हुन नदिन काठमाडौंमा सुरक्षा व्यवस्था कडा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अध्यक्ष राजेन्द्र लिङ्देनको नेतृत्वमा आज प्रदर्शन गर्दै छ। राप्रपाले आज काठमाडौंको बिजुली बजारमा प्रदर्शन गर्न लागेको हो। प्रदर्शनलाई हिंसात्मक हुन नदिनका लागि काठमाडौंमा सुरक्षा व्यवस्था कडा पारिएको छ।
सिंहदरबार, संसद भवन, माइतीघर मण्डला, बालुवाटार, राष्ट्रपति भवनलगायतका निषेधित क्षेत्रहरूमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ। काठमाडौं उपत्यका प्रहरी कार्यालयले प्रदर्शन शान्तिपूर्ण राख्ने र निषेधित क्षेत्र तोड्न नदिने बताएको छ। निषेधित क्षेत्रमा प्रवेशको प्रयास भए बल प्रयोग गर्नेसम्मको तयारीमा प्रहरी रहेको छ भने चुनोतीपूर्ण रहेको सवारी व्यवस्थापनका लागि वैकल्पिक रुट तय गरिएको छ।
यसबीच राप्रपाले प्रदर्शन शान्तिपूर्ण हुने भन्दै सरकारलाई उत्तेजित नहुन भनेको छ। सरकारले संयमता गुमाए आफूहरूले सामूहिक गिरफ्तारी दिने राप्रापले जनाएको छ।
यसअघि राप्रापले निषेधित क्षेत्र तोड्ने चेतावनी दिएपछि शनिबार नै गृह मन्त्रालयले एक सूचना जारी गर्दै अराजकता सह्य नहुने उल्लेख गर्दै कारबाहीका लागि तयार रहन चेतावनी जारी गरेको थियो।
गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादीको प्रदर्शन हिंसात्मक हुँदा दुई जनाले ज्यान गुमाउनु परेको थियो। सो घटनामा संलग्न भएको आरोपमा मुख्य आरोपी दुर्गा प्रसाईंसहित राप्रपा उपाध्यक्ष रविन्द्र मिश्र महामन्त्री धवल शमशेर जबरासहितका नेताहरू प्रहरी हिरासतमा छन्। उनीहरूको रिहाइ, राजसंस्था पुन: स्थापना र हिन्दु राष्ट्रको माग गर्दै राजावादीले प्रदर्शन गर्दै आएका छन्। नागरिकन्युज



