भारतका विद्युतमन्त्री खट्टर दुई दिने नेपाल भ्रमणमा
काठमाडौं : भारतका विद्युत् र आभास तथा सहरी मामिलामन्त्री मनोहरलाल खट्टर काठमाडौं आइपुगेका छन्। भारतका विद्युतमन्त्री खट्टरलाई नेपाल भ्रमणको निमन्त्रणा गरेसँगै उनी आज बिहान दुई दिने भ्रमणका लागि नेपाल आएका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र मन्त्रालयका उच्च अधिकारी र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले स्वागत गरेका थिए।
गत माघ ३० गते भारत भ्रमणका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले उनलाई भ्रमणको निम्तो दिएका थिए। ऊर्जामन्त्री खड्कासँगै भारतका विद्युत्मन्त्री खट्टरले आज दिउँसो भारत सरकारको सहयोगमा निर्माण भएको कोशी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत इनरुवा–बसन्तपुर–बानेश्वर–तुम्लिङटार २०० केभी प्रसारण लाइन तथा २२०/१३३/३३ केभी तुम्लिङटार सवस्टेशन, २२०/३३ केभी बानेश्वर सवस्टेशन र २२०/१३३/३३ केभी वसन्तपुर सवस्टेसनको संयुक्त रूपमा संखुवासभाको तुम्लिङटार सबस्टेसनमा उद्घाटन गर्ने कार्यक्रम रहेको छ।
उनले आजै भारतले निर्माण गरेको अरुण तेस्रो जलविद्युत् आयोजनाको पावर हाउस तथा बाँध क्षेत्रको अवलोकन गर्ने छन्। त्यसैगरी दुई देशले संयुक्त रूपमा निर्माण गर्न लागेको प्रसारण लाइन निर्माणका लागि स्थापना गरिएको कम्पनीको सम्झौतापत्रमा हस्ताक्षर हुनेछ। 
बुधबार भारतका विद्युत्मन्त्री खट्टरले मुस्ताङको मुक्तिनाथको अवलोकन भ्रमण गर्ने कार्यक्रम रहेको छ। बुधबार नै उनले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग शिष्टाचार भेटघाट गर्ने कार्यक्रम तय भएको छ। विद्युत्मन्त्री खट्टरले बुधबार साँझ पशुपतिनाथको दर्शन गरेर स्वदेश फर्कने कार्यक्रम रहेको छ। अन्नपूर्णपोस्ट



