३२ असार २०८३, बिहीबार

भारत सरकारको सहयोगमा मोरङको सुन्दरहरैंचामा श्री पञ्चायत माध्यमिक विद्यालय भवनको शिलान्यास

एसीपी संवाददाता

९ बैशाख २०८२, मंगलवार ११:३६ मा प्रकाशित

मोरङ जिल्लाको सुन्दरहरैंचा नगरपालिकामा अवस्थित श्री पञ्चायत माध्यमिक विद्यालयको नयाँ भवन निर्माणका लागि औपचारिक रूपमा शिलान्यास गरिएको छ। विद्यालय भवनको शिलान्यास कोशी प्रदेशका सामाजिक विकासमन्त्री पञ्चकर्ण राई, सुन्दरहरैंचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईं तथा नेपालस्थित भारतीय दूतावासकी द्वितीय सचिव गरिमा नौटियालले संयुक्त रूपमा गरेका हुन्।
शिलान्यास कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी, विद्यालयका शिक्षक, विद्यार्थी, अभिभावक तथा सामाजिक अगुवाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
भारत सरकारको ‘नेपाल–भारत विकास सहकार्य’ कार्यक्रमअन्तर्गत श्री पञ्चायत माध्यमिक विद्यालयको भवन निर्माणका लागि २ करोड ८१ लाख रुपैयाँ अनुदान उपलब्ध गराइएको हो। यो परियोजना ‘हाई इम्प्याक्ट कम्युनिटी डेभलपमेन्ट प्रोजेक्ट’ अन्तर्गत पर्दछ, जसको निर्माण कार्य सुन्दरहरैंचा नगरपालिकामार्फत सम्पन्न गरिनेछ।

सन् १९६५ मा स्थापना भएको सो विद्यालयमा हाल नर्सरीदेखि कक्षा १२ सम्म अध्यापन हुँदै आएको छ। झण्डै ७५० विद्यार्थी अध्ययनरत उक्त विद्यालयमा ६० प्रतिशत बालिकाहरू रहेका छन्। नयाँ भवन निर्माणसँगै विद्यार्थीहरूको शैक्षिक वातावरण अझ सुधारिने विश्वास अभिव्यक्त गरिएको छ।

शिलान्यासका अवसरमा मन्त्री राई, मेयर गुरागाईं, विद्यालय व्यवस्थापन समिति तथा अन्य सरोकारवालाहरूले भारत सरकारप्रति कृतज्ञता व्यक्त गर्दै सो पूर्वाधारले मोरङ क्षेत्रको समग्र शैक्षिक विकासमा टेवा पु¥याउने उल्लेख गरेका थिए।

भारत सरकारले सन् २००३ देखि हालसम्म नेपालमा ५७३ भन्दा बढी उच्च प्रभाव पार्ने सामुदायिक विकास परियोजना सञ्चालन गरिसकेको छ, जसमध्ये ४९५ परियोजना पूरा भइसकेका छन्। कोशी प्रदेशमा मात्रै ९१ परियोजनाहरू सञ्चालन भएका छन्, जसमा मोरङ जिल्लामा १६ वटा परियोजना रहेका छन्।
त्यसैगरी भारतले नेपालका विभिन्न स्वास्थ्य संस्था तथा शैक्षिक संस्थाहरूलाई १००९ एम्बुलेन्स र ३०० स्कुल बस समेत सहयोग स्वरूप प्रदान गरिसकेको छ। कोशी प्रदेशमा १४६ एम्बुलेन्स र ४८ स्कुल बस दिइएकोमा मोरङ जिल्लामा मात्र २१ एम्बुलेन्स र १५ स्कुल बस प्रदान गरिएका छन्।

भारत र नेपालबीचको बहुपक्षीय सहकार्य झल्काउने यस्ता परियोजनाहरूले नेपाल सरकारका विकास प्रयासहरूमा उल्लेखनीय योगदान पु¥याइरहेका छन्। शैक्षिक पूर्वाधार सुदृढीकरणमार्फत जनताको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले यस्ता पहल गरिएको दूतावासले जनाएको छ। सिधार्थअनलाइन

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x