३२ असार २०८३, बिहीबार

काश्मिर हमला : मुर्छित अवस्थामा सुदिपकी आमा र बहिनी, धर्मका नाममा ताकेरै हाने- प्रत्यक्षदर्शी ज्वाइँ

एसीपी संवाददाता

११ बैशाख २०८२, बिहीबार ०९:४० मा प्रकाशित

रूपन्देही । छिमेकी मुलुक भारतको काश्मिरमा भएको मङ्गलवार आतंकवादीको आक्रमणमा मृत्यु भएका बुटवल कालिकानगरका सुदिप न्यौपानेको घर रहेको मनकामना टोल मात्र होइन बुटवल शोकमग्न छ ।

उनको बुवा बस्ने बुटवल १४ बेलबरिया र उनीहरू बस्ने कालिकानगरको घरमा बिहानैबाट आफन्त, शुभेच्छुकहरूको भीड लागेको छ ।

आमा रिमा पाण्डे, बहिनी सुष्मा शवलाई घरमा पुराएदेखि नै मुर्छित छन् ।

उनले शनिवार मात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएका थिए । भारतको जम्मू-कश्मिरमा आतंकवादी हमलामा मारिएकामध्ये एक नेपालीमा न्यौपाने परेका थिए ।

ज्वाइँ उज्ज्वल काफ्लेले बन्दुकधारीहरूको उक्त समूहले बाटोमा सँगै हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको थियो ।

‘त्यहाँ केही बोल्ने अवस्था नै थिएन, एकाएक ताकेरै गोली हाने , कुनै कल्पना गर्न सक्ने घटना थिएन, त्यसपछि आमा र श्रीमती सम्हाल्नुबाहेक अरू सोच्नै सकिन’ उनले भने । ‘त्यो घटनाले दिएको पीडाबारे केही बोल्न सक्ने अवस्था छैन, कसरी परिवारलाई सम्हालेर ल्याएँ भन्ने सम्झनसमेत सकेको छैन’ काफ्लेले भने ।

सुदिपको शव बिहीबार बिहानै बुटवलस्थित घरमा ल्याइएको छ। आतंककारीहरूले पर्यटकलाई लक्षित गर्दै गरिएको हमलामा उनी पनि मारिएपछि न्यौपाने परिवार विक्षिप्त छ ।

सुदिपको पार्थिव शरीर आज बिहान सुनौली नाका हुँदै बुटवल कालिकानगर घरमा ल्याइएको हो। सुदिपका मामा महाशर्मा पाण्डेका अनुसार पार्थिव शरीर आजै अन्त्येष्टि गरिने छ। आजै उनको त्रिवेणीमा अन्त्येष्टि गरिने तयारी भएको उनले बताए ।

बुटवल-१४ बेलबरियाका सुदीप न्यौपाने भएको खुलेको थियो । मृतकका काका बुटवल १४ का वडाध्यक्ष दधिराम न्यौपानेका अनुसार सुदीप परिवारका एक्ला छोरा हुन् । उनी धरानमा पब्लिक हेल्थ पढ्दै थिए ।

छिमेकी प्रकाश आचार्यका अनुसार टोलमा घटना सुनेदेखि कसैका आँखा ओभाएका छैनन् ।नेपालप्रेस

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x