भारत सरकारको सहयोगमा ३३ जिल्लाका अस्पताललाई एम्बुलेन्स वितरण
काठमाडौं । भारत सरकारले शनिबार नेपालका ३३ जिल्लास्थित स्वास्थ्य संस्थाहरूलाई ४० वटा एम्बुलेन्स हस्तान्तरण गरेको छ। नेपालको सातवटै प्रदेशलाई समेट्दै वितरण गरिएको यो सहयोग भारत-नेपालबीचको विकास साझेदारीको निरन्तरता रहेको बताइएको छ।
काठमाडौंस्थित भारतीय दूतावास, वीरगञ्जस्थित महावाणिज्य दूतावास तथा पोखरा र धरानस्थित पेन्सन कार्यालयहरूमार्फत् समन्वय गरी एकैसाथ चारवटा स्थानमा सवारीसाधन हस्तान्तरण कार्यक्रम सम्पन्न भयो। राजधानी काठमाडौंमै २२ वटा, वीरगञ्जमा ७, पोखरामा ७ र धरानमा ४ वटा एम्बुलेन्स हस्तान्तरण गरिएको हो।
काठमाडौंमा आयोजित प्रमुख समारोहमा भारतीय राजदूतावासका नियोग उपप्रमुख प्रसन्न श्रीवास्तवले बागमती, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका स्थानीय तहका जनप्रतिनिधिहरूलाई सवारीसाधनको साँचो हस्तान्तरण गरे। कार्यक्रममा स्थानीय तहका प्रमुख, राजनीतिक दलका प्रतिनिधि र सामाजिक संस्थाहरूको उल्लेखनीय उपस्थिति थियो।
उपप्रमुख श्रीवास्तवले भने, “नेपाल–भारत विकास साझेदारीअन्तर्गत एम्बुलेन्स प्रदान गर्नु भारत सरकारको दीर्घकालीन प्रतिबद्धता हो। यो हाम्रो सम्बन्धको जीवन्त प्रमाण हो जुन समयसँगै अझ विस्तार र गहिरो भएको छ।”
प्राप्त एम्बुलेन्सहरूले स्वास्थ्य पहुँच विस्तारमा महत्वपूर्ण भूमिका खेल्ने आशा लाभार्थीहरूले व्यक्त गरे। वीरगञ्ज, पोखरा र धरानका स्थानीय प्रतिनिधिहरूले पनि भारतको निरन्तर सहयोगप्रति कृतज्ञता प्रकट गरे।
भारत सरकारले सन् १९९४ यता नेपालमा १०४९ वटा एम्बुलेन्स उपहारस्वरूप प्रदान गरिसकेको छ। साथै, शैक्षिक संस्थाहरूलाई ३०० स्कुल बस, निर्वाचन प्रयोजनका लागि २०० सवारीसाधन र हालै ‘सगरमाथा संवाद’ सहयोगस्वरूप परराष्ट्र मन्त्रालयलाई १५ वटा विद्युतीय सवारी हस्तान्तरण गरिएको छ।
स्वास्थ्य, शिक्षा, निर्वाचन र पूर्वाधार क्षेत्रमा यस्ता सहयोगहरूले दुई देशबीचको बहुआयामिक र जनमुखी सम्बन्धलाई मजबुत बनाउने विश्वास भारतले व्यक्त गर्दै आएको छ। नेपालका दुर्गम तथा ग्रामीण क्षेत्रका लागि यो सहयोग थप राहतको आशा बनाएको छ। नेपालपाना


