३२ असार २०८३, बिहीबार

एक दिवसीय यौन तथा प्रजनन स्वास्थ्य (SRH) सेवा शिविर संयुक्त रूपमा सञ्चालन

एसीपी संवाददाता

१ असार २०८२, आईतवार १९:३८ मा प्रकाशित

बाँके युनेस्को क्लब (BUC) र बढैयाताल गाउँपालिकाको स्वास्थ्य शाखाले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा तथा बढैयाताल गाउँपालिका–८ को कालिका स्वास्थ्य संस्थाको समन्वयमा ‘गर्ल्स स्ट्यान्डिङ स्ट्रङ’ परियोजना अन्तर्गत एक दिवसीय यौन तथा प्रजनन स्वास्थ्य (SRH) सेवा शिविर संयुक्त रूपमा सञ्चालन गरे।

यस कार्यक्रमको मुख्य उद्देश्य पहुँचबाट टाढा रहेका तथा सीमान्तकृत किशोर–किशोरीहरू र युवा समुहलाई लक्षित गर्दै यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी परामर्शसहितका सेवा प्रदान गर्नु थियो। विशेषतः विद्यालयबाहिर रहेका, संवेदनशील तथा जोखिममा रहेका युवा र किशोरीहरूलाई मानसिक स्वास्थ्य तथा समग्र जीवनशैलीका पक्षमा जानकारी दिनु कार्यक्रमको अभिप्राय थियो।

कार्यक्रमको सञ्चालन AGC क्लबकी अध्यक्ष सुश्री स्वस्तिका खड्काले गर्नु भएको थियो। कार्यक्रमको औपचारिक उद्घाटन वडा नं. ८ का अध्यक्ष तेजनाथ पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने अन्य प्रमुख अतिथिहरूमा बढैयाताल गाउँपालिका उपाध्यक्ष लक्ष्मी अधिकारी, स्वास्थ्य शाखा प्रमुख, वडा नं. ७ का वडा अध्यक्ष र विद्यालयका प्रधानाध्यापकज्यूहरू हुनुहुन्थ्यो।

बाँके युनेस्को क्लबका उपनिर्देशक गोविन्दप्रसाद लामिछानेज्यूले कार्यक्रममा परियोजनाको उद्देश्य प्रस्तुत गर्नुहुँदै यस्तो कार्यक्रमले किशोर–किशोरीहरूले आफ्ना समस्याहरू खुलेर अभिव्यक्त गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो र सबै सरोकारवालाहरूलाई धन्यवाद दिनुभयो।

उद्घाटन सत्रको समापनमा वडा अध्यक्ष पौडेलले आफ्नो वडामा यस्तो महत्वपूर्ण शिविर आयोजना गरेकामा बाँके युनेस्को क्लब, प्लान इन्टरनेशनल नेपाल र मेडिकल टोलिप्रति आभार प्रकट गर्नुभयो र यस्तो कार्यक्रमले AGC समूहका सबै सदस्यहरूलाई SRHR सम्बन्धी सचेत गराउने विश्वास व्यक्त गर्नुभयो।

शिविरमा जम्मा १० देखि २४ वर्ष उमेर समूहका १६८ जना किशोर–किशोरीहरूले सेवा लिएका थिए, जो पहुँचबाट टाढा रहेका र सीमान्तकृत समुदायबाट थिए।

यस शिविरमा प्रदान गरिएका SRH सेवाहरूमा गर्भनिरोधक तथा परिवार योजना परामर्श, सुरक्षित गर्भपतन सम्बन्धी परामर्श, एचआइभी परीक्षण, गर्भ परीक्षण, VIA परीक्षण, महिनावारी सम्बन्धी समस्या, ओपीडी सेवा, ल्याब परीक्षण, अन्य SRH सरोकार, मनोसामाजिक परामर्श तथा उच्च स्वास्थ्य संस्था रिफर सेवा समावेश थिए।

शिविरमा नेपालगञ्ज मेडिकल कलेज तथा स्थानीय स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मीहरूद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श दिइएको थियो भने बाँके युनेस्को क्लबको टोलीले व्यवस्थापन भूमिका निर्वाह गरेका थिए। 

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x