डुडुवा गाउँपालिकाको सार्वजनिक सुनुवाईमा ७ बुँदे प्रतिबद्धता
नेपालगञ्ज । डुडुवा गाउँपालिका बाँकेले प्रदान गर्ने सेवा तथा सुविधाको प्रभावकारिता बिषयक सार्वजनिक सुनुवाई कार्यक्रम बास नेपालको सहजीकरणमा सम्पन्न भएको छ । डुडुवा गाउँपालिकाको आयोजना तथा बास नेपालको सहजीकरणमा वडा नम्बर ६ को हिरमिनियामा सम्पन्न सार्वजनिक सुनुवाईले ७ बुँदे साझा सार्वजनिक प्रतिबद्धताको घोषणा गरेको छ ।
यसरी घोषणा गरिएका प्रतिबद्धताहरुमा मन्थनपूर्वामा निर्माण सम्पन्न नालाको निकास नभएकोले यथाशक्य फिल्डमा प्राविधिक खटाई समाधानको पहल गर्ने, वडा नम्बर ६ को मकौलीमा हिलाम्य बाटोका कारण आवतजावतमा समस्या भइरहेकाले हप्ता दिनभित्र ग्राभेल खसालेर आवतजावत सहज गर्ने र दीर्घकालीन समाधानका लागि पहल गर्ने, गंघोटना लगायत टोलहरुमा बिद्युत भोल्टेजको समस्या देखिएकाले ट्रान्सफर्मर जडानको पहल गर्ने, हिरमिनियास्थित साविकको सशस्त्र बेश क्याम्प पछाडिको २०० मिटर बाटो आगामी आर्थिक बर्षमा निर्माण गर्न आवश्यक बजेट विनियोजन गर्ने, अहेरपुर टोलमा ह्युमपाइप आवश्यक रहेकोमा पालिकाबाट उपलब्ध गराउने, स्वास्थ्य चौकीमा देखिएको औषधिको अभाव परिपूर्ति गर्ने र निर्माणाधीन सडकको गुणस्तरियताका बिषयमा सबै सजग रहने प्रतिबद्धता गरिएको छ ।
बास नेपालका कार्यक्रम अधिकृत रबिन्द्र बोहराले सहजीकरण गरेको सुनुवाईमा स्वागत तथा उद्देश्यमाथि बास नेपालका कार्यकारी निर्देशक नमस्कार शाहले प्रकाश पारेका थिए भने सुनुवाई पूर्व गरिएको नागरिक प्रतिबेदन-पत्र र बहिर्गमन अभिमतको नतिजा घोषणा बास नेपालका निर्देशक हेमराज भट्टले गरेका थिए । २५० बढी स्थानीयहरुको सहभागिता रहेको सुनुवाईमा सोधेका प्रश्न तथा जिज्ञासाहरुको जवाफ सुनुवाईमा उपस्थित प्रमुख जवाफदेही बक्ता गाउँपालिका अध्यक्ष नरेन्द्र कुमार चौधरी, उपाध्यक्ष शहिदा बानो, प्रमुख प्रशासकीय अधिकृत अशोक कुमार पाण्डेय, वडा अध्यक्षहरु, शाखा प्रमुख लगायतले दिएका थिए । सार्वजनिक सुनुवाई वडा नम्बर ६ को सरस्वती माबि गंघोटनामा सम्पन्न भएको थियो ।


