विद्यालयहरूमा भगवद् गीता पाठ अनिवार्य गर्ने निर्णय
महेन्द्रनगर । भारतको उत्तराखण्ड प्रदेशले आफ्ना विद्यालयहरूमा भगवद् गीता पाठ अनिवार्य गर्ने निर्णय गरेको छ। मुख्यमन्त्री पुष्करसिंह धामीले ‘नैतिक शिक्षा र जीवन मूल्य’ विकास गर्ने उद्देश्यसहित विद्यालय प्रार्थनासभामा गीता श्लोक पाठ अनिवार्य गरिएको घोषणा गरेका हुन्।
एक सार्वजनिक कार्यक्रममा मुख्यमन्त्री धामीले भने, “गीताको ज्ञान धार्मिक मात्र होइन, नैतिकता र जीवन मूल्यको पाठ हो। यसले विद्यार्थीलाई उत्कृष्ट नागरिक बन्न प्रेरित गर्छ।” उनले स्पष्ट पारे, यो कुनै एक धर्मको प्रचार होइन, बरु भारतीय दर्शन र परम्परासँग शिक्षालाई जोड्ने प्रयास हो।
उत्तराखण्ड धार्मिक आस्थाको केन्द्रका रूपमा चिनिन्छ, जहाँ केदारनाथ, बद्रीनाथ, गंगा र यमुना जस्ता तीर्थस्थल छन्। यसैले प्रदेशलाई ‘देवभूमि’ उपनामले चिनाउने गरिन्छ। गीता पाठलाई अनिवार्य गर्ने निर्णयपछि भारतीय समाजमा स्वागत र आलोचनाका मिश्रित स्वरहरू उठेका छन्, कतिपयले यसलाई सांस्कृतिक गर्वसँग जोडेर हेरेका छन् भने कतिपयले सार्वजनिक शिक्षामा धार्मिक पाठको अनिवार्यता कत्तिको उचित भन्ने बहससमेत उठाएका छन्।
भारतका अन्य प्रदेशहरूमा समेत यस्ता निर्णयको प्रभाव पर्न सक्ने संकेत देखिँदै गर्दा यसले भारतीय शैक्षिक र सामाजिक क्षेत्रमा थप बहस जन्माउने अपेक्षा गरिएको छ।


