१५ भाद्र २०८३, सोमबार

प्रकाशमानको आकांक्षाः फेरि कांग्रेस सभापति लड्ने

एसीपी संवाददाता

४ श्रावण २०८२, शनिबार २०:४५ मा प्रकाशित

नेपाली कांग्रेसका पूर्व उपसभापति प्रकाशमान सिंहले पनि आफू पुनः पार्टी सभापति लड्ने आकांक्षा व्यक्त गरेका छन्। शनिबार प्रकाशित राष्ट्रिय समाचार समिति(रासस)सँगको अन्तर्वार्तामा उपप्रधान एवं सहरी विकास मन्त्री समेत रहेका सिंहले उक्त चाहना व्यक्त गरेका छन्।

‘कांग्रेसको आगामी महाधिवेशनमा यहाँको आकांक्षा कुन पदका लागि हो नि ?’ भन्ने राससको प्रश्नको जवाफमा सिंहले भनेका छन्, ‘नेपाली कांग्रेस पार्टीमा सामान्य कार्यकर्ता हुँदै तलैदेखि काम गरेर आएको हुँ । काठमाडौं जिल्ला सभापति, केन्द्रीय सदस्य, निर्वाचित महामन्त्री भएँ । उपसभापति भएँ । सभापतिमा पनि प्रतिस्पर्धा गरिसकेँ । पार्टीमा सभापति र सरकारमा प्रधानमन्त्री बाहेक अरू जिम्मेवारीमा रहेर काम गरिसकेको छु । अब मेरो दाबेदारी पार्टीभित्र कुन पदमा रहला ? तपाईँ आफैँ अनुमान गर्न सक्नुहुन्छ।’

त्यसपछि सिंहले आफू छलफलमा रहेको कुरा बताएका छन्। ‘अहिले पार्टीका साथीहरूसँग छलफलमा छु । प्राप्त जिम्मेवारीलाई सधैँ इमानदारीपूर्वक निर्वाह गरेको छु,’ सिंहले भनेका छन्, ‘जिल्ला जाँदा र पार्टीका साथीहरू भेट्दा तपाईँलाई सभापतिका रूपमा हेर्न चाहेका छौँ भनिरहनुभएको छ।’

उपप्रधानमन्त्री सिंहले आफू राजनीतिमा लाग्दा कुनै दिन सांसद, मन्त्री हौँला भनेर नलागेको पनि बताएका छन्। ‘दुःख कष्ट भोग्न मात्र होइन, ज्यानैसमेत पनि जान सक्छ भन्ने बुझेर अप्ठ्यारो अवस्थामा राजनीतिमा लागेका हौँ । जनतालाई अधिकार सम्पन्न बनाउन र देशमा तानाशाही व्यवस्था अन्त्य गर्न राजनीतिमा आएका हौँ,’ सिंहले भनेका छन्।

जति बेला आफूहरू राजनीतिमा हामी सक्रिय भएको हो, त्यो बेला निक्कै असहज अवस्था रहेको बताउँदै उनले सार्वजनिक रूपका कार्यक्रम गर्न समेत नपाइने स्मरण गरेका छन्। उनले अगाडि भनेका छन्, ‘धरपकड, गिरफ्तारी हुन्थ्यो । पार्टी प्रतिबन्धित थियो । ती दिनहरू सजिला थिएनन् ।’

राजाले सत्ता हातमा लिएपछि त अवस्था असहज बनेको र प्रजातन्त्रमाथि प्रहार भएका बेला निकै चुनौतीपूर्ण मोड आएको अन्तर्वार्तामा सिंहले बताएका छन्। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x