कोशी नहर सेवा सडक निर्माण अघि बढ्दै, सीके राउतको पहलमा भारत सरकारले दिए प्राथमिकता
राजविराज । जनमत पार्टीका अध्यक्ष तथा सांसद डा. सीके राउतको लगातार पहल र कूटनीतिक सक्रियताले कोशी पश्चिमी नहरको सेवा सडक (सर्भिस रोड) निर्माण योजनालाई कार्यान्वयनको चरणमा पु¥याएको छ। भारत सरकारको बजेटमार्फत अघि बढाइएको यो आयोजना अब एक महिनाभित्र निर्माण सुरु हुने तयारीमा पुगेको छ।
डा. राउतले संसददेखि प्रधानमन्त्री कार्यालय, ऊर्जा, जलश्रोत तथा सिचाइ मन्त्रालय र भारतीय दूतावाससम्म समन्वय गर्दै निरन्तर दबाब र संवादका माध्यमबाट यो परियोजनालाई प्राथमिकतामा ल्याउन भूमिका खेलेका हुन्। बिहार सरकारअन्तर्गत जल संसाधन विभागको सुपौलस्थित कुनौली शाखाका इञ्जिनियर युवराज अमनका अनुसार नहरको ४.२३ किलोमिटरदेखि ३५.१३ किलोमिटर खण्डसम्म ३० किलोमिटर लामो सडक ३.७५ मिटर चौडाइमा कालोपत्रे गरिनेछ। साथै दुबै छेउमा ०.७५ मिटर चौडाइको सोल्जर स्ट्रिप रहनेछ।
हाल टेन्डर प्रक्रिया अगाडि बढिसकेको र निर्माण छिट्टै सुरु हुने जनाइएको छ। स्थानीयवासीले सेवा सडकको निर्माणले आफूहरूको आवतजावत सजिलो हुने मात्र नभई, बस्तीको आर्थिक, सामाजिक र पूर्वाधार विकासमा उल्लेखनीय टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्।
यो आयोजना डा. राउतको क्षेत्रीय विकासप्रतिको प्रतिबद्धता र निरन्तर प्रयासको प्रतिफलका रूपमा हेरिएको छ। नहरको किनारलाई सशक्त पूर्वाधारमा परिणत गर्दै यसले सीमावर्ती क्षेत्रको समग्र समृद्धिमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ।


