११ भाद्र २०८३, बिहीबार

राष्ट्रपति पौडेल र भारतीय विदेश सचिवबीच शिष्टाचार भेट

एसीपी संवाददाता

१ भाद्र २०८२, आईतवार १५:४० मा प्रकाशित

राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति भवन शीतल निवासमा आइतबार शिष्टाचार भेट गरेका छन्।
सो भेटका अवसरमा राष्ट्रपति पौडेलले एक मित्र एवम् निकट छिमेकीका नाताले भारतले गरेको प्रगतिबाट नेपालले लाभ हासिल गरेको र अझ बढी लाभान्वित हुन चाहेको बताए।

‘एउटा उदाउँदो अन्तर्राष्ट्रिय शक्तिको रूपमा भारतको सामाजिक–आर्थिक र प्राविधिक क्षेत्रमा देखिएको प्रगतिबाट हामी प्रसन्न र उत्साहित छौं, एक मित्र एवम् निकट छिमेकीका नाताले भारतका प्रगतिबाट नेपालले लाभ हासिल गरेको छ र अझ बढी लाभान्वित हुन चाहन्छ,’ शिष्टाचार भेटमा राष्ट्रपति पौडेलको भनाइ उद्धृत गर्दै उनको प्रेस सल्लाहकार किरण पोखरेलले भने।

उनले नेपाल र भारतबीच शताब्दीऔंदेखि सामाजिक, सांस्कृतिक, धार्मिक, आध्यात्मिक, आर्थिक, तथा जनस्तरको निकट सम्बन्ध रही आएको छ, हाम्रा दुई मुलुकबीचको सम्बन्ध सार्वभौमिक समानता, मैत्रीपूर्ण सहयोग, आपसी सम्मान एवं विश्वासमा आधारित छ भने।

‘नेपालले भारतसँगको सम्बन्धलाई सधैं उच्च प्राथमिकतामा राख्दै आएको छ, छिमेकीहरूसँगको सम्बन्धलाई विशेष महत्व दिने भारत सरकारको “छिमेक पहिलो नीति” को नेपाल सराहना गर्छ,’ राष्ट्रपति पौडेलले भने।

सो अवसरमा भारतीय विदेश सचिव मिस्रीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको छिमेकी देशसँगको सम्बन्धलाई प्राथमिकता दिने नीति अनुसार नेपाल प्राथमिकताको उच्च स्थानमा रहेको बताएको उनको भनाइ उद्धृत गर्दै राष्ट्रपतिका प्रेस सल्लाहकार पोखरेलले जानकारी दिए।

साथै, विदेश सचिव मिस्रीले आफ्नो भ्रमणका अवसरमा आधुनिक युगमा दुवै देशबीचको प्रगति एवम् विकासका लागि कनेक्टिभिटी कसरी बढाउने भन्ने विषयमा छलफलको अवसर मिल्ने तथा यस भ्रमणबाट दुई देशको सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास पनि व्यक्त गरे। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x