नेपालगञ्ज : बाँके युनेस्को क्लबद्धारा बर्दियाको मधुवन नगरपालिकामा स्थानीय बालअधिकार तथा मानव बेचबिखन नियन्त्रण समिति सम्बन्धी समीक्षा तथा योजना तर्जुमा कार्यशाला सम्पन्न भएको छ ।
क्लबले प्लान इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित सुरक्षा परियोजना अन्तर्गत सो योजना समिक्षा तथा तर्जुमा कार्यशाला सम्पन्न गरेको हो ।
मधुवन नगरपालिकाका नगरप्रमुख तेज बहादुर भाटको अध्यक्षतामा सम्पन्न भएको सो कार्यक्रममा स्थानीय बाल अधिकार तथा मानव बेचबिखन नियन्त्रण समिकिा सदस्यहरू, शिक्षा शाखा, महिला तथा बालबालिका शाखा, स्वास्थ्य शाखा, नेपाल प्रहरी, गैरसरकारी संस्थाका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो ।
कार्यशालाको मुख्य उद्देश्य हालसम्म सञ्चालन भएका गतिविधिहरूको समीक्षा गर्दै आगामी वर्षकालागि मानव बेचबिखन नियन्त्रण, लागूऔषध दुव्र्यसन तथा बालविवाह न्यूनीकरणकालागि समन्वयात्मक र समुदायमा आधारित कार्यक्रमहरूको कार्ययोजना तयार गर्नु रहेको थियो ।
कार्यक्रममा बालबालिका, महिला तथा जोखिममा रहेका समुदायका लागि सुरक्षित, समावेशी र संरक्षणमुखी वातावरण निर्माण गर्न सामूहिक प्रयास, साझा जिम्मेवारी तथा संस्थागत समन्वयको आवश्यकता माथि विशेष जोड दिइएको थियो । साथै स्थानीय संयन्त्रलाई थप प्रभावकारी बनाउने, जनचेतना अभिवृद्धि गर्ने तथा समुदायस्तरमा दिगो रोकथामका उपायहरू प्रवद्र्धन गर्ने विषयमा समेत छलफल गरिएको थियो ।
कार्यक्रमको समापनका क्रममा नगरप्रमुख भाटले बालबालिका तथा समुदायको सुरक्षा, सम्मान र समग्र कल्याण सुनिश्चित गर्न सबै सरोकारवालाबीच निरन्तर प्रतिबद्धता, प्रभावकारी समन्वय तथा एकीकृत प्रयास आवश्यक रहेको उल्लेख गरे । उनले मानवबेचविखन नियन्त्रण र बालअधिकारका लागि सबैको सहयोग आवश्यक रहेको कुरामा बिशेष जोड दिए ।
कार्यक्रमको सहजीकरण प्लान इन्टरनेशनल नेपालकी प्राविधिक सल्लाहकार सबिना राउत तथा बाँके युनेस्को क्लबका परियोजना संयोजक ईश्वर बिकले गरेका थिए भने बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर सबित्रा भाटले सहयोग गरेकी थिइन् ।
साझेदारी, समन्वय र समुदायको सक्रिय सहभागितामार्फत हिंसा, शोषण तथा हानिकारक अभ्यासमुक्त सुरक्षित समाज निर्माण गर्न सकिने विश्वास कार्यशालामा व्यक्त गरिएको थियो ।



