२७ जेष्ठ २०८३, बुधबार

प्रधानमन्त्री मोदीको कीर्तिमानलाई ‘उल्लेखनीय उपलब्धि’ भन्दै रविले दिए बधाई

एसीपी संवाददाता

२७ जेष्ठ २०८३, बुधबार १४:०१ मा प्रकाशित

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले नरेन्द्र मोदीले लगातार निर्वाचित भारतीय प्रधानमन्त्रीको कीर्तिमान बनाएको भन्दै बधाई दिएका छन्।

उनले भारतको इतिहासमा सबैभन्दा लामो समयसम्म लगातार निर्वाचित प्रधानमन्त्रीका रूपमा सेवा गर्ने कीर्तिमान कायम गरेको भन्दै सामाजिक सञ्जाल एक्समार्फत बधाई दिएका हुन्।

सभापति लामिछानेले यसलाई एक उल्लेखनीय उपलब्धि भन्दै लेखेका छन्, ‘भारतको सबैभन्दा लामो समयसम्म निर्वाचित प्रधानमन्त्री बन्ने ऐतिहासिक उपलब्धिमा प्रधानमन्त्री श्री नरेन्द्र मोदीजीलाई हार्दिक बधाई।’

उनले मोदीसँग हालै नयाँ दिल्लीमा भएको भेटवार्ता पनि स्मरण गरेका छन्।

लामिछानेले अगाडि लेखेका छन्, ‘दिल्लीमा भएको हाम्रो हालैको भेटघाट र हामीले साझा गरेका अन्तर्दृष्टिपूर्ण छलफलहरू मलाई सम्झना छ। समृद्ध नेपालको लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को दृष्टिकोणबाट नेपाल-भारत सम्बन्धलाई अगाडि बढाउन हामी प्रतिबद्ध छौँ।’

साथै उनले आर्थिक सहयोग र साझा विकासमा केन्द्रित पारस्परिक हितका क्षेत्रमा मिलेर काम गर्न इच्छुक रहेको कुरा पुन: देहोर्‍याएका छन्। मे २६, २०१४ मा पहिलोपटक प्रधानमन्त्रीको रूपमा शपथ लिएका मोदीले बुधबार चार हजार ३९९ औँ दिनको निरन्तर कार्यकाल पूरा गर्दै यो कीर्तिमान बनाएका हुन्।

यसअघि यो कीर्तिमान भारतका पहिलो प्रधानमन्त्री जवाहरलाल नेहरूको नाममा थियो। नेहरूले सन् १९५२ को पहिलो आम निर्वाचनपछि निर्वाचित प्रधानमन्त्रीका रूपमा लगातार चार हजार ३९८ दिन सेवा गरेका थिए। नागरिकन्युज

0 0 votes
Article Rating
Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments
0
Would love your thoughts, please comment.x
()
x