एमाले कार्यालयको सुनसान , केपि लाई हटाउने घमासान
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई अध्यक्षबाट हटाएर देखाउन खुला चुनौती दिएका छन् । ‘अध्यक्षलाई हटाउने ! पार्टी सदस्य छ कि छैन ?’ इलाममा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने ।
खुला चुनौती दिंदै उनले भनेका छन्, ‘पार्टी अध्यक्ष हटाउने ! चिया मगाएको छ, चिया खाएको छ । अध्यक्ष हटाउने ? कहिले हो हटाउने ! हटाइदेऊ न । ढिलो भयो भने त छिटो हटाऊ त ।’
अध्यक्ष ओलीले जसले अध्यक्षबाट आफूलाई हटाउने भनिरहेको छ, ऊ पार्टी सदस्य नै छ कि छैन भनेर पनि प्रश्न गरेका हुन् । चिया पिएर गफ गर्दैमा पार्टी अध्यक्ष नहट्ने उनको भनाइ छ । उनी थप्छन्, ‘के मजाक हो यस्तो !’
एमाले अध्यक्षबाट केपी शर्मा ओलीलाई हटाउने भनेर कतिपयले हस्ताक्षर अभियान नै सुरु गरेका छन् । यसप्रति पनि अध्यक्ष ओलीले रोष प्रकट गरे । उनले भनेका छन्, ‘कोही हस्ताक्षर गर्दै हिंड्या छन् अध्यक्ष हटाउने भनेर । यसका पछाडि केही दम छैन, केही छैन’, उनले भनेका छन्, ‘न पार्टीको तरिका न विधान । अस्ति महाअधिवेशन भएको थियो । आफैं पनि सहभागी भयो होला ।’
पार्टीमा के गर्ने भनेर विधि र समय हुने उनले बताए । अध्यक्ष ओलीले भनेका छन्, ‘जति बेला विरोधी शक्ति तिव्र प्रहार गरेको छ, हामीलाई झेल्नु मुस्किल भइरहेको छ । त्यतिबेला सिंगै पार्टी एकजुट भएर एकताबद्ध भएर एकताबद्ध पार्टीले सामना गर्नु पर्ने, मुकाबला गर्नु पर्ने ठाउँमा यति बेला पार्टी भित्र अध्यक्ष हटाउँछु भन्या छ, के भन्या छ । अहिले यी सबै कुराहरु बेकार छन् ।’


