युवा अभियन्ता ठाकुर मधेसका मानबाट सम्मानित
काठमाडौं । युवा अभियन्ता एवं नेपाल फाउण्डेशनका अध्यक्ष विकाशकुमार ठाकुर सम्मानित भएका छन् ।
बुधबारदेखि मधेस प्रदेशको राजधानी जनकपुरमा आयोजित प्रथम युवा महोत्सवमा ठाकुर सम्मानित भएका हुन् ।
महिला बालबालिका युवा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको महोत्सवको मधेस मान सेसनमा मन्त्री वीरेन्द्र प्रसाद सिंहले ठाकुरलाई सम्मान गरेका हुन् । मन्त्री सिंहले खादा ओढाएर प्रमाण पत्र प्रदान गरेका थिए ।
मधेसमा जन्मिएर देश र विदेशमा आफ्नो काम र योगदानबाट नाम चम्काउन सफल मधेसका हिरोहरुलाई सम्मान गर्ने कार्यक्रममा ठाकुर सम्मानित भएका हुन् ।
युवा अभियन्ता ठाकुरले ७ वर्षदेखि युवा क्षेत्रमा क्रियाशील रहेको र मिडिया उद्यमी पनि रहेको बताए । ‘युवा भनेको अफ्ठेरो र चुनौतीसँग खेल्ने अवस्था हो । मैले यही अठोटका सफलता हात पारे । यहाँका युवाहरूले पनि प्रयास गर्नुपर्छ । सफलताले आफैं पछ्याउँछ,’ उनले भने ।
ठाकुरसहित डाक्टर रामजी राम, अन्तर्राष्ट्रिय क्रिकेट खेलाडी मैबुब आलम, उद्यमी अमर मण्डल, मिस नेपाल युनिभर्स सन्ध्या शर्मा, कल्याणपुर नगरपालिकाकी कम उमेरकी उपमेयर रेखाकुमारी यादव, कोरियोग्राफर अश्विनीकुमार झा, सुरेन्द्र महतो शारीरिक सुगठन खेलाडी पनि सम्मानित भएका छन् ।


