जसपाको केन्द्रीय कार्यालयमा आफ्नै कार्यकर्ताबाट कुटिए विवादित मन्त्री योगेन्द्रराय, छुट्याउनै हम्मे हम्मे
जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा)बाट मधेस प्रदेश सरकारमा मन्त्री रहेका विवादित र अराजक पात्र योगेन्द्रराय यादव कुटिएका छन् ।
राजधानीको बालकुमारीस्थित केन्द्रीय कार्यालयमा पुगेका विवादित मन्त्री यादव आफ्नै कार्यकर्ताबाट कुटिएका हुन् । उनी यसअघि पनि मधेसमै आक्रमणामा परेर विवादमा आउने गरेका थिए । साथै उनीमाथि भ्रष्टाचारको आरोपसमेत छ । यसपालि भने उनले देखाएको अराजकताका कारण कुटिनुपर्ने अवस्था आएको हो ।
साउन ९ गते दिउँसो दुई बजे पार्टी कार्यालय बालकुमारी पुगेका राज्यमन्त्री यादवले पार्टी अध्यक्ष उपेन्द्र यादवको बारेमा नकारात्मक टिप्पणी गरेपछि जसपाका कार्यकर्तासमेत रहेका इन्जिनियर सञ्जीव नारायण यादवले प्रतिवाद गर्दा झडप भएको थियो ।
प्रत्यक्षदर्शीकाअनुसार जसपा अध्यक्ष यादवमाथि नानाथरी टिप्पणी गरेपछि जसपानिकट नेपाल ईजिनियरिङ समाजका केन्द्रीय सहअध्यक्ष ई संजिव नारायण यादवले मन्त्री यादवलाई पार्टी कार्यालयभित्रै झापड हानेका थिए ।
राज्य मन्त्री यादवले गत स्थानीय निर्वाचनमा अध्यक्षले सहयोग नगरेकाले पार्टीको हार भएको र आफूलाई जानीजानी चुनाव हार्ने ठाउँबाट टिकट दिएको आरोप लगाएका थिए ।
अध्यक्ष यादवको भए नभएको आलोचना र गालीगलौज गरेपछि स्थिति तनावग्रस्त बनेको थियो । भनाभन उग्र हुँदै गएपछि उनीहरु बीच कुटाकुट भएको थियो । उनीहरु कुटाकुट भएपछि अर्को कोठमा बसेका पार्टी अध्यक्षका स्वकीय सचिव सुभाष यादवले छुटाएका थिए ।
छुटाउन उनलाई हम्मे हम्मे नै परेको थियो । मन्त्री यादवमाथि हातपात गरेको भनेर ईजिनीयर यादवले स्वीकार गरेका छन् । पूर्वमन्त्री रेणु यादवको तर्फबाट पैरवी गरेका मन्त्री यादवले उपेन्द्र यादवकै कारण स्थानीय तहको चनावमा खराब परिणाम आएको भन्दा त्यसमा इन्जिनियर यादवले रेण यादवले नै जथाभावी टिकट बाँड्दा जसपाको हालत कमजोर भएको भनेर प्रतिवाद गरेका थिए । त्यसपछि झडप भएको थियो ।
राज्यमन्त्री यादवले त्यस्तो कुनै पनि घटना नभएको भन्दै अस्वीकार गरेका छन् । पार्टी कार्यालयमा सरोज राय र ईन्जिनीयर सञ्जीव यादवले तथानाम बोलेपछि विवाद भएको र समान्य भनाभन मात्रै भएको मन्त्री यादवको दाबी छ ।


