जर्मनीले स्पेनलाई बराबरीमा राेक्याे, समूहकाे समीकरण राेमाञ्चक
दाेहा — चारपल्टकाे विश्वकप विजेता जर्मनीले स्पेनलाई १-१ काे बराबरीमा राेकेपछि कतार संस्करणमा आइतबार अन्तिम १६ प्रवेशकाे लागि समूह ‘ई’ काे समीकरण राेमाञ्चक बनेकाे छ ।
अल्भाराे माेराटाले जाेर्डी अलबाकाे क्रसमा फस्टबारमै जाली चुमाउँदै स्पेनलाई ६२ औं मिनेटमा अग्रता दिलाए । त्यसमा जर्मन कप्तान एवं गाेलकिपर म्यानुएल नाेयकाे प्रदर्शन फितलाे रह्याे ।
जमल मुसियलाले दिएकाे बललाई निकलस फुलक्रुगले आकर्षक गाेल गर्दै ८३ औं मिनेटमा जर्मनीलाई १-१ काे बराबरीमा पुर्याए । अन्त्यतिर दुवै टिमले अवसर बनाएका थिए तर उपयाेग गर्न नसकेका कारण खेल बराबरीमा सकियाे ।
यसअघि काेस्टारिकामाथि ७-० काे जित हात पारेकाे स्पेन ४ अंकसहित समूह ‘ई’ काे शीर्षस्थानमा रहेकाे छ । उसले समूहकाे अन्तिम खेलमा जापानविरुद्ध प्रतिस्पर्धा गर्नेछ भने जर्मनीले काेस्टारिकाविरुद्ध खेल्नेछ । जर्मनी पहिलाे खेलमा जापानविरुद्ध २-१ ले हारेपछि दबाबमा परेकाे हाे । अब उसलाई अन्तिम १६ मा स्थान बनाउन काेस्टारिकासँगकाे खेलमा जित र गाेलकाे हिसाब पनि अनुकूल हुनुपर्नेछ ।


